काठमाडौं । प्रतिनिधि सभा विघटनको विरुद्धमा प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा विशाल विरोध सभा गरेको छ । विरोध सभामा अध्यक्ष प्रचण्डले केपी ओलीको धम्कीमा आएर निर्णय नगर्न निर्वाचन आयोगलाई सुझाव दिए । प्रचण्डले मंगलबार निर्वाचन आयोग पुगेर ओलीले धम्काएको समेत बताए । 'संवैधानिक निकायले राम्रोसँग बुझुन् । केपीका डर, धाकधम्की हैन । हिजो निर्वाचन आयोगमा गएर केपीजीले ३० दिन कट्यो... काइते कुरा । काइते कुरा गर्ने केपीले गएर धम्काउनु भएछ । अहिले आयोगका केही केही मान्छेहरु खोई के हो के हो ? अहिले नभनौं, भन्यो भने फेरि बिग्रने हो कि,’ अध्यक्ष प्रचण्डले भने, 'तर, ७० प्रतिशत केन्द्रीय सदस्य एकातिर हुँदाहुँदै । हामीले सुरुमा गएका भनेका हौं हामी हो पार्टी भनेर । ३० दिन त के १० दिन पनि पुगेको थिएन हामी जाँदा । त्यसलाई हिसाब नगर्ने अनि केपी ओलीले गएर धम्काउँदा बित्तिकै त्यसैलाई मात्रै हेर्नुभयो भने तपाईंहरुको खुट्टी पनि देख्छन् नेपाली जनताले । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’ ओली भगवानको शरणमा गए पनि आफूहरुका लागि जनता नै भगवान् भएको उनको भनाइ छ । तर, ओली अझै पनि सच्चिने भन्दा मुर्खता गर्ने पक्षमा रहेको भनाइ छ । 'केपीजी तपाईं भ्रममा कतिदिन बाँच्ने हो ? तपाईंलाई म सल्लाह दिन चाहन्छु । तपाईंले साह्रै ठूलो अपराध गर्नुभयो । राष्ट्रका विरुद्ध, जनताका विरुद्ध । तपाईंले अलिकति आफूलाई ठाउँ राख्ने हो तुरुन्तै राजीनामा दिनुस्, पश्चाताप गरेर वक्तव्य निकाल्नुस्,’ उनले भने, 'तपाईंलाई अलिकति ठाउँ नेपाली जनताले दिन सक्छन् । तपाईं अझै मूर्खता गर्नेमा हुनुहुन्छ । तपाईं अझै निरंकुशतातिर जानेमा हुनुहुन्छ । तपाईं आजकल जनताको शरणमा भन्दा भगवानको शरणमा जानु भएको छ ।' 'नेपाली जनता हाम्रा भगवान हुन् । हामी तपाईंहरु जनताको शरणमा छौं । जनताको धार्मिक आस्थाप्रति हाम्रो सम्मान छ । सबै धर्म, सम्प्रदाय र त्यसमा आस्था राख्ने जनताप्रति हाम्रो सम्मान छ,’ दाहालले भने । 'केपी ओलीले नहुने चुनाव घोषणा गरेको भन्दै प्रचण्डले भ्रममा नपर्न अन्य दललाई पनि आग्रह गरे । केपी ओलीले घोषणा गरेको चुनाव हुनेवाला होइन । कोही भ्रममा नपरौं,’ उनले भने, 'लोकतान्त्रिक आन्दोलनको छवि बनाएको नेपाली कांग्रेस, संघीय लोकतान्त्रिक गणतन्त्रको छवि बनाएको जनता समाजवादी लगायतका पार्टीहरु कुनै भ्रममा पर्न आवश्यक छैन ।’ लोकतन्त्र र संघीय गणतन्त्र खतरामा छैन भन्ने पुष्टि गर्न अहिले कांग्रेसलाई अवसर भएको दाहालले बताए । 'देशमा लोकतन्त्र अब खतरामा छैन भन्ने पुष्टि गर्ने अवसर कांग्रेसलाई हो । कांग्रेसका कार्यकर्तालाई म अपील गर्न चाहन्छु । यो अवसर गुम्न नदिनुस् । हामी तपाईंहरुसँग हातेमालो गर्न तयार छौं,’ प्रचण्डले भने । नेपालमा लोकतन्त्रको हत्या हुन लाग्दा लोकतन्त्रको पक्षमा रहेका अन्तर्राष्ट्रियस्तरबाट पनि समर्थन चाहेको दाहालले बताए । 'सबै अन्तर्राष्ट्रिय देशहरु खासगरी छिमेकी देश जो लोकतन्त्रको पक्षमा छन् । नेपालमा लोकतन्त्रको हत्या भइराखेको छ,’ उनले भने, 'यो बेला संसारभरका लोकतान्त्रिक मूल्य मान्यतालाई समर्थन गर्नेहरुबाट सहयोग र सद्भाव चाहेका छौं । दायाँबायाँ हुने छैन भन्ने भरोसामा छौं ।’