काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको सरकारले सबैभन्दा बढी किसान र कृषि क्षेत्रमाथि प्रहार गरेको आरोप लगाएका छन् । आइतबार अखिल नेपाल किसान महासंघको केन्द्रीय कमिटी बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै ओलीले कृषि क्षेत्रमा विदेशी कम्पनीलाई राइँदाइँ गर्न दिएर नेपाली किसानलाई विदेश लखेट्ने खेल सुरु गरेको प्रचण्डले बताए । ‘उनले प्रतिगनमकारी कदम चालिसकेपछि कृषि क्षेत्रमा विदेशी कम्पनीहरूलाई लगानी गर्न दिने, विदेशीलाई राइँदाइँ गर्न दिने र नेपाली किसानहरूलाई अझ बढी गरिब, अझ बढी असहाय बनाउने र विदेशतिर लखेट्ने खेल सुरू भएको छ,’ दाहालले भने, ‘सबैभन्दा बढी किसानहरूलाई नै हामीले यो कुरा बुझाउन जरुरी छ। र, किसानहरूलाई नै बढी आन्दोलित गर्नु जरुरी छ।’ किसानविरोधी ओलीको नीतिलाई परास्त गर्न जरुरी भएको पनि दाहालले बताए । ‘कृषि क्षेत्रमाथि वैदेशिक एकाधिकार पुँजीवादलाई ल्याउन खोज्ने, विदेशी दलालहरुलाई ल्याउन खोज्ने केपी ओलीको राष्ट्र विरोधी, किसान विरोधी नीति अगाडि आएको छ, त्यसलाई परास्त गर्न जरुरी छ,’ दाहालले भने ।