काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न आग्रह गरेका छन् । प्रतिनिधिसधा विघटनको विरोधमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ६ काठमाडौंले शुक्रबार शान्ति बाटिकामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिनँ भन्ने भन्दै प्रतिनिधिसभा विघटनको मुद्दालाई कांग्रेसले असंवैधानिक कदम भनिसकेको बताए । 'पञ्चायतको बेलामा, फाँसी मुद्दा लाग्ने बेला अदालततर्फ हेरेर बोलेका बीपीका कार्यकर्ताहरु आज रामशाहपथ देखेर पर पर भागेर अदालतको बारेमा बोल्दैन भन्ने कायरहरुमात्रै हुन सक्छन्,' नेता थापाले भने, 'अदालतको बारेमा कांग्रेस बोल्दैन भनेर भ्रम नराखौं । अदालतमा बहस भइरहेको विषयमा कांग्रेसले बोलिसक्यो, पुस ५ गतेको कदम असंवैधानिक हो ।' पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भन्दै नेता थापाले अदालतले दायाँबायाँ फैसला नगर्ने विश्वास व्यक्त गरे । 'बीपी कोइरालाले सर्वोच्च अदालततर्फ हेरेर भन्नुभयो यो अदालत हो श्रीमान् न्यायको चारकिल्ला भित्र न्यायको हत्या नहोस् । दायाँ नहेर्नुस् । बायाँ नहेर्नुस् । वर नहेर्नुस् । पर नहेर्नुस् । न्याय गर्नुस् । विवेक पुर्याउनुस्', नेता थापाले स्मरण गराए ।