ललितपुर । नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डलाई मिलाउन आफू सक्षम रहेको बताएका छन् ।
बुधबार नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने पनि बताए । ‘अहिले उहाँहरु दुईतिर फर्कनु भएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु । केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन । प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ,’ गौतमले भने ।
ललितपुरको धोबीघाटमा आयोजित कार्यक्रमकाबीच उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय घोषणा गरेका छन् ।
पार्टी एकीकरणबाट विमुख भए ओली र प्रचण्ड सैनिकबिनाको सेनापतिजस्तो हुने पनि गौतमले बताए । वैशाख १७ र २७ गते चुनाव भइहालेमा आफूलाई मन पर्ने व्यक्तिलाई भोट हाल्न पनि गौतमले नेता कार्यकर्तालाई आग्रह गरे ।
त्यस्तै पार्टी विभाजनका लागि केपी शर्मा ओली र प्रचण्ड बराबर जिम्मेवार रहेको बताए । पार्टीमा जुटाउनेभन्दा पनि फुटाउने गतिविधि धेरै भएको पनि उनले बताए । ‘एउटाले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्रीलाई हटाउने र विकल्पको प्रधानमन्त्री बन्ने साथै अर्काले तिमीले बहुमत पुऱ्याउँदै छु मैले प्रतिनिधिसभा भंग गरिदिन्छु भन्ने कारणले नै अहिलेको अवस्था आएको हो,’ उपाध्यक्ष गौतमले भने ।