काठमाडौं । पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूले 'जनयुद्ध' का क्रममा खेलेको भूमिकाको प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गरेका छन् ।
पूर्वजनमुक्ति सेनाका केही कमाण्डरहरूसँग बालुवाटारमा शनिबार भेटघाट गर्दै ओलीले 'जनयुद्ध' मा उनीहरुले दिएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताए ।
उनले पूर्वजनमुक्ति सेनाहरुका भावना नेतृत्वले दुरुपयोग गरेको भन्दै आफूले राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने आश्वासन दिए । ओलीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, 'जनयुद्धमा तपाईंहरुले गरेको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं'
नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।' ओलीलाई भेट्न तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र युद्धका केही कमाण्डरहरु बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि सत्तारुढ नेकपा विभाजित भएको छ । ओली पक्ष र प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अहिले नेता, कार्यकर्ता तानातानमा छन् । ओलीले असंवैधानिक रुपमा संसद् विघटन गराएको भन्दै प्रचण्ड -नेपाल सडक आन्दोलनमा छन् ।