काठमाडौं । सरकारले विद्युतीय ग्रीड आधुनिकिकरण आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त १ सय ५६ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने भएको छ। शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्राइभेट फर्म रजिस्ट्रेसन (तेह्रौ संशोधन) नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिए। त्यसैगरी कर्णाली क्षेत्रका केही जिल्लामा सञ्चालनमा रहेको बालपोषण संरक्षण अनुदान कार्यक्रम रसुवा, धनुषा, दैलेख, सल्यान, बारा, बैतडी, रुकुमपूर्व, रुकुम पश्चिम, रोल्पा, सप्तरी र कपिलवस्तु गरी ११ जिल्लामा थप गर्ने निर्णय पनि बैठकले गरेको छ। सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि बैठकले गरेको छ। संयुक्त अधिराज्यबाट यात्रा आरम्भ हुने अथवा संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल आउने यात्रुलाई आगमन रोक लगाउनेसम्बन्धी कोभिड–१९ व्यवस्थापन केन्द्र निर्देशक समितिको निर्णय अनुमोदनसमेत बैठकले गरेको गुरुङले बताए।