कास्की । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा भंगको विरुद्धमा देशव्यापी आन्दोलन गर्नुपर्ने बताएका छन् । उनले संसद पुनर्स्थापना नभएसम्म सडक आन्दोलन जारी राख्ने पनि बताए । कामचलाउ प्रधानमन्त्री केपी ओली निर्वाचित तानाशाह बन्न संसद विघटन गरेको पौडेलले आरोप लगाए । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कास्की कांग्रेसले बिहीबार पोखरामा गरेको प्रवचन कार्यक्रममा उनले ओली निर्वाचित तानाशाह बन्न खोजेकाले संयुक्त आन्दोलनबाटै निकास खोज्नुपर्ने बताए । 'यो विश्वमा निर्वाचनबाट धेरै तानाशाह जन्मेका छन् । नेपालमा पनि केपी ओली निर्वाचित तानाशाह बन्न खोजेका छन् । त्यसलाई हामीले कुनै हालतमा स्वीकार्दैनौं । तानाशाह बनेर यो देशमाथि हुकुम चलाउन दिँदैनौं,' पौडेलले भने । नेता पौडेलले राष्ट्रका शक्तिहरु मिलेर राष्ट्रियता र संविधान बचाउनु पर्नेमा जोड दिए । 'राष्ट्रका शक्तिहरु मिलेर राष्ट्रियता बचाउने हो । राष्ट्रका को–को घरेलु शक्तिहरु मिलेर यो राष्ट्र बचाउने, परिवर्तन बचाउने, संविधान बचाउने हो, मिलेर बचाउनुपर्छ,' उनले भने, 'कसले अरुको इशारामा यो राष्ट्रलाई भूमरीमा धकेल्दै छ, तिनलाई हामीले धकेल्दिनुपर्छ । द्विविधामा कोही पनि नरहनुहोला ।' 'अहिले प्रतिनिधिसभाको पुन:स्थापना आवश्यकता रहेको र यसले नै नेपाललाई बिग्रह, शक्तिकेन्द्रको अखडा बन्नबाट र द्वन्द्वको भूमरीमा फस्नबाट रोक्छ,'पौडेलले थपे ।