काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले रिक्त रहेका ७ मन्त्रालयमा मन्त्री नियुक्त गर्दै केही मन्त्रीको मन्त्रालय हेरफेर र २ जनालाई हटाइदिएका छन् । प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । नयाँ थपिएका मन्त्रीमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेम आले, गणेशसिंह ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा, जुलीकुमारी महतो, विमला विश्वकर्मा रहेका छन् । रायमाझीलाई ऊर्जामन्त्री, थापालाई खानेपानीमन्त्री, साहलाई सहरी विकासमन्त्री, ठगुन्नालाई सामान्य प्रशासनमन्त्री बनाइएको छ । लामालाई भने युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, महतोलाई महिला तथा बालबालिका मन्त्रालय, आलेलाई वन मन्त्रालय, चौधरीलाई श्रम, विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघि उद्योग राज्यमन्त्री रहेका मोती दुगडलाई भने हटाइएको छ । त्यस्तै, ६ जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयबाट पर्यटनको जिम्मेवारीमा पठाइएको छ, हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ महिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लीलानाथ श्रेष्ठलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ भने कानुनबाट शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयमा सारिएको छ । पद्मा अर्याललाई भने भूमिसुधारबाट कृषिमन्त्रीको जिम्मेवारीमा सारिएको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मालाई हटाइएको छ ।