काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले तत्काल संसद बोलाउन माग गर्ने लगायत दुईबुँदे समझदारी गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दुई दलबीच शनिबार भएको छलफलमा संसद् अधिवेशन बोलाउन सरकारसँग माग गर्ने र प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो । छलफलमा कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । यस्तै, जसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए । ‘यो सरकारको अकर्मण्यताको कसरी प्रतिरक्षा गर्ने ? प्रतिपक्षीको धर्म कसरी निभाउने ? भन्ने विषयमा छलफल भयो, मिल्न सक्ने साझा मुद्दाहरूमा मिलेर जाऔँ भन्ने कुरा भयो,’ बैठकपछि कांग्रेसका वरिष्ठ नेता पौडेलले सञ्चारकर्मीसँग भने। उनका अनुसार संसद् अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने । २. लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड १९ को विविध पक्ष, आर्थिक संकटलगायतका जनसरोकारका विषयमा संसद्मा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ३० गते संबैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएका थिए । संसद अधिवेशन बस्ने बेलामा सो अध्यादेश ल्याएको भन्दै काङ्ग्रेस र जसपाले तत्काल अध्यादेश फिर्ता लिन माग गरेका हुन् । संसदमा यी दुई दलको ९९ सांसद रहेका छन् । यदि यी सांसदले रास्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध महाभियोग लगाउन प्रस्ताव दर्ता गर्न सक्नेछन् । संसद डाके लगत्तै प्रधानमन्त्री ओली विरुद्ध पनि संसदमा अविश्वास प्रस्ताव हुने संभावना रहेकोले पनि प्रधानमन्त्री ओली दबाबमा छन् ।