काठमाडौं । सरकारको कार्यशैलीको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभर विरोध प्रदर्शन गर्दैछ ।
‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको हो । सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।
सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ ।
आज हुने विरोधका कार्यक्रममा ७७ वटै जिल्लामा केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी सभापति शेरबहादुर देउवाले हेटौंडामा र वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने कांग्रेसले जनाएको छ ।
त्यस्तै, उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । महामन्त्री डा. शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री डा. प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा, सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटा र पूर्वसहमहामन्त्री डा. रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले कास्कीमा हुने विरोध सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना कहर ख्याल गर्दै प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन’ भनेका छन् ।
अपिलमार्फत् देउवाले प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले विरोध प्रदर्शन लिएर सडकमा उत्रनुपरेको उल्लेख गरेका छन् ।
‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा केन्द्रित गर्दै लग्यो,’ अपिलमा भनिएको छ ।