काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज लक्ष्मी पूजा गरिदै छ ।कात्तिक कृष्ण औँसीको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर शनिबार लक्ष्मी पूजा मनाइँदै छ । फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले यो दिन घर आँगन, कोठा, चोटा, बुइँगल, अट्टालिका र घर गोठका कुनाकन्दरा सफा र उज्यालो राखेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ ।
यसै दिन जनैपूर्णिमाका दिन नाडीमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँधेर वैतरणी नदी पार गर्ने मनोकाङ्क्षा पनि राखिन्छ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्नु भनिएको छ ।
घाम अस्ताउनु अघिको २५ मिनेट र अस्ताएपछिको प्रदोषकालमा उद्यमी व्यवसायीले र गृहस्थले यसपछि लक्ष्मीको आराधना गर्दा राम्रो हुने ज्योतिषी डा। सुनील सिटौला बताउछन् ।
आज्ञा पालक र भरपर्दो रक्षक मानिएको कुकुर पूजा पनि यसै दिन परेको छ । शनिबार दिउँसो १ः४९ बजेसम्म चतुर्दशी र यसपछि आइतबार बिहान ११ः२७ बजेसम्म औँसी रहेको छ । चतुर्दशीमा कुकुर पूजा र औँसी लागेपछि लक्ष्मी पूजा गर्नुपर्ने डा। सिटौला बताउछन् ।
पाँच दिनसम्म मनाइने तिहारको अन्तिम दिन दिदी–बहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाई दिएपछि सकिन्छ ।