Logo

सोमवार, श्रावण २५ गते २०८३

images

११ दिनपछिको संवादमा ओली-प्रचण्डबिच यस्ता विषयमा भयो छलफल

११ दिनपछिको संवादमा ओली-प्रचण्डबिच यस्ता विषयमा भयो छलफल

दैनिकी न्यूज

१५, कार्तिक २०७७
११ दिनपछिको संवादमा ओली-प्रचण्डबिच यस्ता विषयमा भयो छलफल
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यकारी अध्यक्ष प्रचण्डले तत्काल सचिवालय बैठक बोलाएर जारी गतिरोध अन्त्य गर्न सुझाव दिएका छन्। शनिबार दिउँसो बालुवाटारमा भएको भेटवार्ताको क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखा परेका थुप्रै समस्यालाई सचिवालय बैठकबाट समाधान गर्नुपर्ने भएकोले तत्काल बैठक राख्न प्रस्ताव गरेका हुन्। 'पार्टीभित्रको विवादलाई हामीहरुले मात्रै छलफल गरेर परिणाम निस्किएन। अब सचिवालय बैठक बोलाएर त्यही छलफल गरेर समस्या समाधान गरौँ',' प्रचण्डको भनाईलाई उदृत गर्दै एक नेताले भने। सचिवालय बैठक राख्ने बिषयमा प्रधानमन्त्री ओली पनि सकारात्मक रहेको बताइए पनि मिति भने तय भएको छैन । दुई अध्यक्ष छलफलका बिषयमा निष्कर्षमा अझै पुग्न सकेका छैनन्। यसअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कर्णाली प्रदेशमा देखिएको विवादपछि भेटवार्ता रोकिएको थियो। राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सामा प्रचण्ड पक्षका महेश चौरसियाको हत्यारालाई पक्राउ नगर्न दिइएको दबाब र भारतीय जासुस संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्रीको भेटवार्ता लगायतका विषयमा ओली प्रचण्डबिच बिमति देखिएको थियो। शनिबार ११ दिनपछि बालुवाटारमा भएको भेटवार्ताको क्रममा यी सबै समसामयिक बिषयमा छलफल भएको ती नेताले जनाए । प्रचण्डसंग दुरी  बढेपछि ओलीले संवाद कायम गर्न आफू निकटका नेताहरूलाई दिनहुँ खुमलटारमा पठाएका थिए । शुक्रबार प्रधानमन्त्री ओलीले आफूनिकट नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई प्रचण्डसँग भेट्न पठाएका थिए। यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार, अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग बुधबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। सचिवालय बैठक राख्न प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयलाई लिखित रुपमा माग गरिसकेका छन्। सचिवालयको बहुमतका नेताहरु तत्कालै सचिवालय बैठक राख्नुपर्ने पक्षमा छन्।

images
प्रकाशित मिति :कार्तिक १५, २०७७ शनिवार - २२:३५:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology