ललितपुर । ललितपुरमा भुकम्प पुनर्निर्माणको घर बनाउने सङ्ख्या निकै कम देखिएको छ । अहिलेसम्म ४१ प्रतिशत लाभग्राहीले मात्रै घर बनाएका छन् । घर बनाइ सकेर उनीहरुले तेस्रो किस्ताबापतको एक लाख रुपैयाँसहित तीन लाख रुपैयाँ बुझेका छन् । पुनर्निर्माणका लागि आवेदन दिएकामध्ये ११ हजार आठ सय ४३ जना अर्थात् ४१ दशमलव २ प्रतिशतले मात्रै घर बनाइ सकेर तेस्रो किस्ताबावापतको रकम बुझेका हुन् । ललितपुरमा घर पुनर्निर्माणका लागि सम्झौता गरेका २५ हजार चार सय ११ जना लाभग्राहीमध्ये २५ हजार तीन सय ६१ जना लाभग्राहीले पहिलो किस्ता र १२ हजार सात सय ६० जनाले दोस्रो किस्ताबापतको रकम बुझेका छन् । आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्ममा पुनर्निर्माणका लागि ललितपुरका लाभग्राहीले एक अर्ब ५७ करोड ५९ लाख रुपैयाँ बुझेकाे जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) का प्रमुख शिवलाल गेलालले बताए । ललितपुरमा पुनर्निर्माणका लागि २८ हजार आठ सय दुई जनाले आवेदन दिएका थिए । ललितपुरका तीन हजारभन्दा धेरै लाभग्राहीसँग अझै पुनर्निर्माणसम्बन्धी सम्झौता हुन बाँकी छ । दाजुभाइको झगडा, अंशबन्डा, जग्गा कम हुनु लगायतका कारणले केहीको अझै सम्झौता हुन बाँकी रहेको जिमालीका प्रमुख गेलालको भनाइ छ । यस्तै प्रमुख गेललालका अनुसार यदि भूमिहीन नै हो भने पुनर्निर्माण प्राधिकरणले थप दुई लाख रुपैयाँसम्म जग्गा किन्नका लागि दिने व्यवस्था गरेको जानकारी दिए ।