ललितपुर । महाधिवेशनलाई निर्धारित मितिमै सम्पन्न्न गर्नुपर्ने माग राखेर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले विरोधपत्र दर्ता गराएको छ ।
पार्टीलाई विधानसम्मत सञ्चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन पौडेल समूहले माग गरेको हो । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा गएर नवीन्द्राज जोशी, दीपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङ र जीवन परियारले विरोध पत्र दर्ता गराएका हुन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन गराउनै नचाहेको जस्तो देखिएको बताएका छन् ।
तोकिएको समयमा निष्पक्ष र स्वच्छ तरिकाले महाधिवेशन होस् भन्ने हाम्रो माग हो, जुन तरिकाले सभापतिजी चलिरहनुभएको छ, त्यसले आशंका उत्पन्न गराएकोले विरोधपत्र बुझाउनुपरेको उनीहरुले बताए ।
पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको विरोधपत्रमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । महाधिवेशनको सुनिश्चितता, निश्चितता, विभागहरुको गठन, भातृसंस्थाको निर्वाचन र क्रियाशिल सदस्यता लगायतका विषय यो पत्रमा उल्लेखित छन्, यी विषयहरुमा विरोध गरिरहेको कृष्णप्रसाद सिटौला समूहले भने यसमा हस्ताक्षर गरेको छैन ।