काठमाडौं । जिल्ला प्रशासन कार्यालय (सिडिओ) काठमाडौंले असोज ४ गते आइतबारदेखि बन्द गरेको सबै सेवाहरु पुनः सञ्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासन कार्यालयले साउन २५ देखि केही सेवाहरु बन्द गरेको थियो ।
बिहीबार सूचना जारी गरी सिडिओ कार्यालयले नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, संघसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४ देखि खुला हुने जनाएको हो । सबै सेवा सुरु गरेपनि कार्यालयमा भीड हुन नदिन बार तोकिएको छ । नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी, नाबालिग परिचयपत्र, राहदानी, हातहातियार दर्ता नवीकरण सेवा लिन एक दिनमा दुईवटा नगरपालिकाका नागरिकमात्र आउन पाउने गरी तालिका बनाएको छ ।
जसअनुसार काठमाडौं महानगरपालिकाका सेवाग्राहीले आइतबार, मंगलबार र बिहीबार सेवा पाउनेछन् । त्यस्तै, कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका सेवाग्राहीले सोमबार, बुढानीलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिकाका सेवाग्राहीले बुधबार र गोकर्णेश्वर, दक्षिणकाली, शंकरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले शुक्रबार सेवा पाउनेछन् । संस्था दर्ताको काम सोमबार र बुधबारमात्र हुनेछ, नवीकरण आइतबार, मंगलबार र बिहीबार हुनेछ । पत्रपत्रिका र छापाखाना दर्ता र विधान संशोधनको काम शुक्रबार मात्रै हुने सूचनामा उल्लेख छ । संघसंस्थाको प्रतिलिपि पत्रचारसम्बन्धी सेवा भने प्रत्येक दिनको ४ बजेपछि गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।