Logo

सोमवार, श्रावण २५ गते २०८३

images

को हुन् चोरेको पैसाले मोटरसाइकल खरीद गर्ने ?

को हुन् चोरेको पैसाले मोटरसाइकल खरीद गर्ने ?

दैनिकी न्यूज

३१, भाद्र २०७७
को हुन् चोरेको पैसाले मोटरसाइकल खरीद गर्ने ?
images

काठमाडौं । अपराधिक काम गरी पटकपटक सजाय भोगेका सिन्धुपाल्चोकका सुमन श्रेष्ठ फेरी अर्को अपराधमा गासिएको पाइएको छ । जुगल गाउँपालिका वडा नं. ३, गुम्बा घर भएका सुमन श्रेष्ठ केही समयअघि मात्र लागुऔषध मुद्दामा पाँच वर्ष सजाय भुक्तान गरी जेलमुक्त भएका थिए । प्रहरी रेकर्डमा लागुऔषध मुद्दा मात्र होइन, राजधानीमा हुने पाकेटमार समूहका नाईके भनेर उनको नाम दर्ता छ । उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा समूह नै बनाएर श्रेष्ठले पाकेटमारीको धन्दा सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुमन पाकेटमारी, चोरी, लुटपाटजस्ता मुद्दामा पटक–पटक जेल पर्दै छुट्दै गर्ने व्यक्ति हुन् । अहिले उनको लुटेरा समूहसँग समेत कनेक्सन देखिएपछि उनीमाथि प्रहरीले थप निगरानी बढाएको छ ।

केहि दिन अघि प्रहरीले काठमाडौंको कपनमा सुन किन्न बोलाएर लाखौं रकम लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने मध्ये चार जना सिन्धुपाल्चोक जिल्लाका रहेको प्रहरीले जनाएको छ । एक जना फरार रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नविन कार्कीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाका वडा नं. ३ का ३२ वर्षीय विष्णु थापा, जुगल गाउँपालिका वडा नं. ४ पाङताङका २७ वर्षीय मेखबहादुर तामाङ, जुगल–२ गोल्छेका २८ वर्षीय रुवेन लामा गोले, जुगल–५ बराम्चीका २३ वर्षीय आकाश स्याङ्वो रहेका छन् । अर्का एक आरोपी सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नं. ५ घर भइ हाल कपन बस्ने विशाल लामा रहेका छन् । त्यस्तै बाह्रविसे नगरपालिका वडा नं. ४ का सुजन विक हाल फरार रहेका छन् । उनी मोटरसाइकल चालक हुन् ।

उनीहरुलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले भदौ १८ गते बिहीबार नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार कपनस्थित आनीगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका हुन् । लुटेरा समूहले उनको साथमा रहेको १३ लाख ५० हजार लुटेका थिए ।

प्रहरीको अनुसन्धान अनुसार सस्तोमा सुन बेच्ने लोभमा पारेर लुट्ने समूहका मुख्य योजनाकार रुवेन लामासँग ३७ वर्षीय निराहाङले सुन किनबेचको योजना मिलाएका थिए । सानो टुक्रा सक्कली सुन देखाएर विश्वासमा पारेपछि रुवेनले पैसा लिएर गुम्बा नजिक बोलाएका थिए । गुम्बा नजिक पुग्नासाथ रुवेनको समूहका चारजनाले निराहाङको साथमा रहेको झोला खोसेर भागेका थिए ।

घटनापछि प्रहरीले उनीहरुको खोजी तथा अनुसन्धान तिब्र बनाएको थियो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार पक्राउ परेका मध्ये दुईजनाको कनेक्सन नामुद पाकेटमार नाइके भनेर चिनिएका सिन्धुपाल्चोकका सुमन श्रेष्ठसँग देखिएको छ । ती अधिकारीले भने, ‘पहिलेका पाकेटमार नाइके कहलिएका सुमन श्रेष्ठसँग अहिले पक्राउ परेका केही लुटेराहरुको कनेसक्न देखिएको छ । सुमनकै डिजाइनमा लुटपाट भएको होकी भन्ने आशंकामा अहिले हामीले थप अनुसन्धान अघि बढाएका छौं ।’

ती अनुसन्धान अधिकारीका अनुसार लागुऔषध मुद्दा, पाकटमारी, लुटपाटलगायत थुप्रै घटनामा पटक पटक जेल परिसकेका सुमन अहिले पनि अपराधमा सक्रिय रहेका छन् । उनको नाम सुन्ने वित्तिकै अहिले सिन्धुपाल्चोकका अधिकांश निर्माण व्यवसायी र व्यापारीहरु डराउने गर्छन् । उनले हतियारको आडमा ब्यापारीहरुलाई धम्काएर चन्दा आतंक नै मच्चाएका छन् ।

केही समयअघि मात्र लागुऔषध मुद्दामा पाँच वर्ष सजाय भुक्तान गरी जेलमुक्त भएका सुमन श्रेष्ठले व्यापारीलाई धम्काएर जबरजस्ती चन्दा आतङ्क मच्चाउन थालेको ब्यापारीहरु बताउँछन् । उनको केही गर्छनकी भन्ने डरले ब्यापारीहरुले प्रहरीमा उजुरीसम्म गर्न सक्दैनन् ।

लुटपाटमा संलग्न समूह मध्येका सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका वडा नं. ४ पाङताङका मेखबहादुर तामाङ एकजनाले लुटेको पैसाले प्रदेश–३–०२–०१३ प ३३८० नम्बरको पल्सर मोटरसाइकल किनेका थिए ।

लुटेरा र प्रहरी कोरोना संक्रमित
महानगरीय प्रहरी वृत्त बौद्ध र अपराध महाशाखाले नियन्त्रणमा लिएका सबैलाई कोरोना पोजिटिभ देखिएको प्रहरी स्रोतले बतायो । संक्रमण पुष्टि भएपछि आरोपीलाई जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको आइसोलेशनमा भर्ना गरिएको छ ।

थुुनुवा बाहेक, महानगरीय प्रहरी वृत बौद्धका १६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित प्रहरीलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा राखिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - ०९:०५:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology