ललितपुर । बिहान ४ बजेदेखि लगाइएको कर्फ्युले ललितपुरको चक्रपथ भित्रको जनजीवन प्रभावित भएको छ ।
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीवार पुल्चोकमा भएको हिंसात्मक घटनाका कारण आज बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म ललितपुरमा कर्फ्यु लगाइएको हो ।
बिहानैदेखि लगाइएको कर्फ्युका कारण आज ललितपुरको शहरी क्षेत्र सुनासान छ । सुरक्षाकर्मीका र अत्याश्यक सवारी साधनहरु चले पनि अन्य सवारी चलेका छैनन् । बजारहरु पूर्णरुपमा बन्द गरिएको छ । अवस्था हेरेर प्रहरीले गोलीसम्म चलाउन सक्ने भएकाले पनि आजको कर्फ्यु अरु बेलाको भन्दा कडा भएको प्रहरीले बताएको छ ।
सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सूचना तथा प्रशारण विभागको प्रेस पास भएका पत्रकारहरु हिडडुल गर्न कुनै रोकतोक नगरिएको प्रहरीले जनाएको छ ।
ललितपुरको पुल्चोकमा भएको रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग स्थानीयको झडप भएपछि कर्फ्यू आदेश जारी गरेको महानगरीय प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले जानकारी दिए ।
विहिबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि प्रशासनले कडाइ गरेको हो । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको रथ तान्नका लागि विहीबार भेला भएका स्थानीयलाई प्रहरीले हटाउन खोज्दा झडप भएको थियो । यता गुठी संस्थान र १९ जातीय प्रतिनिधित्वको खलःपुचले निर्णय नगर्दासम्म रातो मच्छिन्द्रनाथको रथ नतानिने भएको छ ।




