काठमाडौं । पछिल्लो एक हप्ता लगातार बढेको काठमाडौं उपत्यकामा शनिबारदेखि भने कोरोना संक्रमितको संख्या घट्न थालेको देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका १५५, ललितपुरका १९ र भक्तपुरका १२ जनासहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जबकि शुक्रबार उपत्यकाका तीन जिल्लामा ४ सय १५ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबारको तुलनामा आधाभन्दा पनि बढी संख्या घटेको छ ।
काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते देखि गरेको निषेधाज्ञा भदौ १७ सम्म थपिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थपिएको ८ सय ८४ संक्रमित पनि शुक्रबारको तुलनामा घटेको छ । शुक्रबार ९ सय २७ संक्रमित भेटिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित प्रेस ब्रिफिङमा १० हजार ९७१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको र देशभर ८ सय ८४ जनालाई संक्रमण भएको जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमितमध्ये २४२ महिला र ६४२ पुरुष रहेको बताए ।
प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३१३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ।