ललितपुर । नेपाली सेनाको मेजर बताउने सुरेश विष्टले चलाउने स्कुटर अर्को स्कुटरको नम्बरसँग मिल्न आएको छ । विष्टले चलाउने बा ५२ प ७३१९ नम्बरको स्कुटर काभ्रे जिल्ला रोसी–४ घर भई हाल काठमाडौं–३२ कोटेश्वर बस्ने सुर्जमान तामाङसँग मिल्न आएको छ । तामाङले २०७६ माघ २३ गते एस एन बि ईन्टरप्राईजेजबाट खरिद गरी चलाउँदै गरेको स्कुटीको नम्बर एउटै रहेको फेला परेकोले साउन ७ गते यस महानगरीय प्रहरी बृत्त चापागाउँले नियन्त्रणमा लिएको छ ।
गतसाउन साउन २ राति नेपाली सेनाको मेजर भन्दै धम्काउँदै हिँडिरहेको अवस्थामा विष्टलाई वृत्त चापागाउँले पक्राउ गरेको थियो । उनको घर गोदावरी नगरपालिका वडा नं. २, विशंखु हो । उनी जग्गासम्बन्धी कारोबार गर्ने स्रोतले बतायो ।.
गतसाउन २ गते साँझ ७ बजेतिर चापागाउँमा ठूलो हल्लीखल्ली मच्चियो । प्रहरी चौकी अगाडि मेजर मादक पदार्थ सेवक गरी गेटबाहिर होहल्ला गरिरहेका थिए । मेजरले होहल्ला गरेको देखेर वृत्त चापागाउँका डिएसपी कृष्णराज ओझाले पक्राउ गर्न डिउटीमा रहेका प्रहरीलाई आदेश दिए ।
पक्राउ पछि ओझाले कार्यकक्षभित्र लगेर सोधपुछ गरे । अन्ततः विष्ट नक्कली मेजर भएको खुल्यो । यति कुरा खुलेपछि गोदावरी नगरपालिकाभरि यो घटना थप चर्चाको विषय बन्यो ।
नक्कली मेजरलाई समातिएपछि सैनिक प्रहरीको एउटा टोली चापागाउँ वृत्त पुगेको पुग्यो । ती विष्टलाई सोधपुछ गरेपछि सेनाको सेवामा नरहेको खुल्यो । तर, विष्ट सेनामा २०६२ वैशाख ११ गते नेपाली सेनाको सेवा प्रवेश गरी २०६३ वैशाख ११ गते बर्खास्तमा परेको खुल्यो । त्यसपछि सेनाको टोलीले विष्टलाई सेनामा कार्यरत नभएको भन्दै चापागाउँ प्रहरी वृत्तकै हिरासतमा छाडेर हिड्यो ।
बर्खास्तपछि विष्टले सेनाको पोशाक दुरुपयोग गर्दै आएको खुलेको छ । विष्टको अनुसन्धानमा जुटेको प्रहरीले उनी जग्गा कारोबारमा लागेको र कसैको पैसा फसेको भए उठाइदिने काममा सक्रिय भएको पाइयो । पैसा उठाउन जाँदा सुरुमा प्याप्टेनको बर्दीमा जाने गरेको अनुसन्धानका क्रममा खुलेको छ । त्यसपछि मेजरमा बढुवा भएको भन्दै बर्दीमै जाने गरेको पाइएको डीएसपी ओझाले बताए ।
‘केही समय अघिसम्म उनै नक्कली मेजरको चापागाउँ वृत्तमा आउजाउको थलो बनेको थियो ।’ वृत्तका प्रहरी स्रोतले भन्यो, ‘तत्कालीन केही डिएसपी साबहरूसँग भेट्ने र चिया पिउने गरेका उनी पटक–पटक आइरहन्थ्यो ।’ एकपटक तत्कालीन डीएसपीसँग कुरा गरिरहँदा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन पनि आइपुगे । ती मेजर विष्टले प्रमुख महर्जनकै अगाडि भने, ‘आज मेयरसाब यहीँ हुनुहुन्छ । मैले भन्नै पर्छ, चापागाउँ अलिकति संवेदनशील क्षेत्र हो । सुरक्षामा विशेष ध्यान दिनुहोला । केही सहयोग चाहिए म माथि कुरा गरौंला ।’
यता, विष्टले पारिवारिक सम्बन्धभित्र पनि ‘मेजर नै हुँ’ भन्दै दुई श्रीमतीलाई झुक्याएर राखेको पाइएको छ । ‘नक्कली मेजरले पोष्टिङ र सरुवा भयो भन्दै दुई श्रीमतीको घरमा आतेजाते गरेको पाइयो ।’ प्रहरी स्रोतले भने, ‘उनको बसाइ ६ महिना चापागाउँ र ६ महिना विशंखुनारायणमा हुने गरेको छ ।’
डीएसपी ओझाले नक्कली मेजरका बारेमा सूक्ष्म अनुसन्धान भइरहेको बताए । ओझाले भने, ‘जिल्ला अदालत ललितपुरबाट पहिलो पटक १० दिनको म्याद थप भई ठगी, चोरी र किर्तेबारे अनुसन्धान भैरहेको छ ।’
यो पनि पढ्नुहोस
सेनाको मेजर हुँ भनेर धम्क्याउँदै हिँड्ने विष्ट चापागाउँ प्रहरीको फन्दामा