ललितपुर । ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा भर्ना भएकी एक गर्भवतीसहित ४ जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
संक्रमितहरूमध्ये महांकाल गाउँपालिका घर भई हाल ललितपुर महानगरपालिका धापाखेल निवासी २९ वर्षीय गर्भवती महिला छन् । अर्का पर्सा जिल्ला ठोरी गाउँपालिका वडा नंं. ७ स्थायी घर भई हाल ललितपुर बालकुमारीका ११ वर्षीय बालक छन् । उनी ज्वरो आएर आइसोलेसनमा भर्ना भएका थिए ।
यस्तै, ५५ वर्षीय पथ्थरीका समस्या भएका पुरूषमा पनि संक्रमण पुष्टि भएको छ । उनी महालक्ष्मी नगरपालिका वडा नं. ६ सानागाउँ निवासी रहेको अस्पतालले जनाएको छ । उनी हस्पिटलमा असार २१ गते आएका थिए । उपचार पश्चात घर गएका थिए ।
अर्का संक्रमित भने ललितपुर जिल्ला बागमती गाउँपालिका वडा नंं. ६ आश्राङका ६६ वर्षीया महिला हुन् । उनलाई दमको समेत समस्या छ । उनी असार २० गते हस्पिटल भर्ना भएका थिए ।
बुधबार पनि भारत सितामाडि घर भई ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्को बस्ने २४ वर्षकी सुत्केरी महिलामा कोरोना पोजिटिभ देखिएको थियो । ती महिला असार १९ गते सुत्केरी भएकी थिइन ।