ललितपुर । आर्थिक अनियमिततामा जोडिएको भन्दै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियारमा उजुरी परेको छ ।
प्रशासकीय अधिृकत कृष्णप्रसाद जैसी विरुद्ध उजुरी परे लगत्तै अख्तियारले छानबिन प्रक्रिया थालेको स्रोतले जनाएको छ । उनीमाथि नगरभित्रको विकास योजनामा आर्थिक दुरुपयोग गरेको भन्दै हेलो सरकारमा समेत उजुरी परेको छ । हेलो सरकारले राष्ट्रिय सतर्कता केन्द्रलाई चिठी पठाई आवश्यक कारवाही गर्न आग्रहसमेत गरेको छ ।
स्रोत र साधनको हिसावले गोदावरी नगरपालिका महत्वपूर्ण मानिन्छ । जैसी २०७५ भदौमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आएका हुन् ।
गोदावरी नगरभित्रका प्रत्येक प्लटिङ हाउजिङहरूमा रकम असुल्ने गरेको उनीमाथि आरोप छ । अख्तियारमा दिएको उजुरीमा गोदावरी नगरपालिका–१० स्थित डाँडागाउँको प्लटिङ कम्पनीसँग कमिसन स्वरुप २ कित्ता जग्गा गरी ९ आना लिएर छोरी र श्रीमतीको नाममा पास गरेको उल्लेख छ ।
यस्तै गोदामचौर, झरुवारासी, टाहाखेल लगायतका ठाउँमा रहेका प्लटिङ कम्पनीसँग पनि रकम मागेको आरोप लगाएका छन् ।
जैसीले गोदावरी नगरपालिकाको प्रमुख आयस्रोतको रुपमा रहेको ढुंगा खानी क्रसर व्यवसायबाट पनि रकम असुल्ने गरेको व्यवसायीले नै आरोप लगाएका छन् । देवीचौर, नल्लु क्षेत्रका मापदण्ड विपरीतका ढुंगाखानी क्रसरसँग रकम उठाएकै कारण अवैध रुपमा चल्न दिएको स्थानीयको आरोप छ ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भने यसबारे थाहा नभएको प्रतिक्रिया दिए ।
यससम्बन्धमा जैसीसँग सम्पर्क गर्दा कमिशन लिएको कुरा अस्वीकार गर्दै जग्गावालासँग सिधै जग्गा किनेको स्वीकार गरे । ‘बुबाको पेन्सन, छोरा र बुहारीसमेत जागिरे छन्, मलाई जग्गा किन्न कमिशन खानै पर्दैन’, उनी भन्छन् ।
क्रशर, ढुंङगाखानी र प्लटिङवालासँग कुनै सम्बन्ध नभएको जैसीको दाबी छ । उनले भने, ‘प्लटिङवालासँग किनेको होइन, कुनै कमिशन पनि लिएको छैन’, दैनिकीन्युजसँग उनले भने, ‘म आफै छक्क परेको छु, मान्छे मेरो पछि किन लागेका हुन् ?’
उनले कमिशन खान नपाएकाहरुले आफूविरुद्ध भ्रम चलाएको बताए । ‘विधि र प्रकृया अनुसार काम गर्दा मसँग केही रुष्ट भए होलान, हुँदै नभएको आरोप लगाएर हटाउने योजना हुनसक्छ’, उनले भने । यस्तै नचाहिने आरोप लगाएपछि गोदावरी नगरपालिका बस्न मन नभएको बताए ।