ललितपुर । ग्यास सिलिन्डरको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–६, सानागाउँका ४७ वर्षीय सरोज नेम्कुल रहेका छन्। उनी सिद्धिपुर ग्यास स्टोरका सञ्चालक हुन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ग्यास सिलिन्डरको सिलबन्दी खोलेर सबै सिलिन्डर रित्तो रहेको देखाउँदै कृत्रिम अभाव सिर्जना गरिएको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली स्टोरमा पुगेको थियो।
प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट खटिएको टोलीले स्टोरमा खानतलासी गर्दा सिलसहितका दुई वटा र सिल नभएका २२ वटा भरिएका ग्यास सिलिन्डर फेला पारेको थियो।
प्रहरीले ती सिलिन्डर बरामद गरी स्टोर सञ्चालक नेम्कुललाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार पक्राउ परेका नेम्कुलमाथि ग्यासको कृत्रिम अभाव सिर्जना गरेको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।