Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विवादास्पद काम सहित कार्यपालिका वोर्ड छल्दै सकियो चिरीबाबुका पाँच वर्ष (हेर्नुहोस सूचि)

विवादास्पद काम सहित कार्यपालिका वोर्ड छल्दै सकियो चिरीबाबुका पाँच वर्ष (हेर्नुहोस सूचि)

देवीदत्त पौडेल

८, बैशाख २०७९
विवादास्पद काम सहित कार्यपालिका वोर्ड छल्दै सकियो चिरीबाबुका पाँच वर्ष (हेर्नुहोस सूचि)
images

ललितपुर । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनको कार्यकाल नगरकार्यपालिका वैठकलाई छल्दै आफूखुसी काम गरेरै सकिएको छ । २०७४ वैशाख ३० गते भएको स्थानीय निर्वाचनबाट तत्कालीन एमालेका उम्मेदवार हरिकृष्ण व्याञ्जनकारलाई पराजित गर्दै ललितपुर महानगरको बागडोर सम्हाल्ने अवसर पाएका चिरीबाबुले यो अवधिमा आफैलाई निर्वाचन जिताउने पार्टीका नेता तथा कार्यकर्ता, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुसँग समेत आवश्यक समन्वय गर्न आवश्यक ठानेन् । कार्यकालको सुरुवातदेखि नै विवादमा मुछिएका चिरीबाबु विवादकै बीच आफ्नो कार्यकाललाई बिट मार्ने तयारीमा छन् । विवादै विवादमा कार्यकाल समाप्त गर्द लागेका नगरप्रमुख महर्जनले २०७८ को असारमा सम्पन्न नगरसभापछि कार्यपालिकाको वैठक वोलाएर कुनै निर्णय गराउन सकेका छैनन् ।

ललितपुर महानगरपालिकाको नेतृत्वमा चिरीबाबुको आगमनसँगै सुरु भएको विवादले धेरै वटा चरणहरु रहेका छन् । नगरप्रमुख पदको लागि उम्मेदवारी सुरु भएसंँगै विवादमा तानिएका चिरीबाबु कार्यकाल अन्य गर्ने वेलासम्म धेरै वटा विवादमा मुछिएका छन् ।

विवाद नं. १
२०७४ सालको स्थानीय निर्वाचनमा नगरप्रमुखको टिकट पाएका चिरीबाबुको आगमन नै विवादमा रह्यो । नगरप्रमुखको उम्मेदवारका लागि दौडमा रहेका भरतलाल महर्जन र प्रेमकृष्ण महर्जनलाई पाखा लगाउँदै टिकट हत्याउन सफल भएका चिरीबाबुले पार्टी केन्द्रीय नेतृत्वलाई समेत हेप्ने काम गरे । २०७४ को स्थानीय निर्वाचनमा माओवादीसँग भएको गठबन्धनको निर्णय अनुसार चितवनको भरतपुर र ललितपुर महानगरपालिका माओवादीको भागमा परेको थियो । पार्टी केन्द्रीय नेतृत्वले सोही अनुसार उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा उनी दुई दिनसम्म मोवाइल अफ गरेर गुप्तवास बसेका थिए । उम्मेदवार हुन अघिसम्म नेपाली काँग्रेस ललितपुरका कार्यकर्ताहरुबीच खासै नचिनिएका चिरीबाबु १५ वर्षदेखि पार्टीमा निष्कृय थिए । चन्द्र महर्जन जिल्ला सभापति रहेका वेला नेपाली काँग्रेसको जिल्ला सदस्यमा मनोनित भएका चिरीबावु त्यस कार्यकालमा निष्कृय नै रहे ।

विवाद नं. २
चिरीबाबुले पार्टी सभापति शेरबहादुर देउवासंग चुनाव जित्ने विषयमा बाजी राखेका थिए । आफूले जिते सभापतिसंग एक हजार रुपैयाँ बाजी लिने, आफूले हारे सभापतिलाई एक लाख रुपैयाँ बुझाउने बाजी राखेका चिरीबाबुले आफू जितेपछि शेरबहादुर देउवासंग एक हजार रुपैयाँको नोटमा हस्ताक्षर गर्न लगाएर सार्वजनिक गरेका थिए । सोही कारण पार्टी सभापतिलाई विवादमा तानेका चिरीबाबुका कारण सृजना भएको यो दोस्रो विवाद हो ।

विवाद नं. ३
ललितपुर महानगरपालिकामा चिरीबावुका कारण सुरु भएको अर्को विवादको विषय भनेको कार्यपालिका वोर्डलाई छल्ने काम । चिरीबाबुले नेतृत्व सुरु गरेसंगै हरेक पटक वोर्ड वैठकमा असहति जनाएका एमाले र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले कार्यकालभरी नै चिरीबाबुका हरेक कामलाई प्रश्न गरिरहे । आफूखसी मनपरी तोक आदेशका भरमा खर्च गर्ने, कार्यपालिकाका अधिकाँश निर्णयलाई वेवास्ता गर्ने, तोक आदेशमा भएको काम सम्पन्न भएपश्चात मात्रै कार्यपालिकालाई जानकारी दिने गरेर चिरीबाबुले आफ्नो कार्यकाललाई विट मार्ने चरणमा छन् ।

विवाद नं. ४
चिरीबाबुसंग जोडिएको अर्को विवाद हो काँग्रेस पार्टी र नेता तथा कार्यकर्ताको असन्तुष्टि । नेपाली काँग्रेस पार्टीको टिकटमा सोही पार्टीका नेता र कार्यकर्ताको सहयोगमा नेतृत्वमा स्थापित भएका चिरीबाबुले आफनो कार्यकालभरी नेपाली काँग्रेसलाई वेवास्ता गरिरहे । कुनै समय उनलाई टिकट दिने शेरबहादुर देउवा र टिकट दिलाएर जिताउनका लागि आफ्नो जीवनकै बाजी लगाएर लागिपरेका मदन बहादुर अमात्य समेतलाई वेवास्ता गरेका चिरीबाबुले आफूलाई भेटन आएका बागमती प्रदेशका विपक्षी दलका नेता इन्द्र बहादुर बाँनियाँ, काँग्रेस केन्द्रीय सदस्य उमा रेग्मी र तरुण दलका अध्यक्ष जीतजंग बस्नेतलाई आफ्नो कार्यकक्ष बाहिरै ४५÷४५ मिनेटसम्म कुराए । यो कुराले नेपाली काँग्रेस बृतमा लामै समयसम्म चर्चा पायो । महानगरपालिकाभित्रका अधिकाँश कांग्रेस कार्यकर्ताहरुले चिरीबाबुको कार्यकालमा अपनत्वबोध गर्न नपाएको गुनासो गरिरहेका छन् ।

विवाद नं. ५
चिरीबाबुसंग जोडिएको अर्को विवाद भनेको नगरप्रहरी प्रमुखको नियुत्ति हो । कार्यपालिकाको वैठक विना नै नगरपालिकाको प्रहरीको चेन अफ कमान्ड सम्हाल्ने काममा पूर्व ट्राफिक प्रहरी सिताराम हाछेतुलाई नियुत्ति गरेर चिरीबाबुले नगरपालिकाका वोर्डमा अर्को विवाद थपे । जसका कारण विपक्षी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु थप रुष्ट बने ।

विवाद नं. ६
चिरीबाबुले गरेको अर्को विवादको निर्णय भनेको स्मार्ट पार्किङ सम्बन्धि ठेक्काको विषय हो । उपप्रमुखको नेतृत्वमा हुने राजश्व परामर्श समितिलाई समेत छलेर चिरीबाबुले आफ्नै तजविजीमा एक कम्पनीलाई उठेको शुल्कको २० प्रतिशत मात्रै महानगरपालिकाले पाउने गरी ठेक्कामा थिएका थिए । पछि कार्यपालिका वोर्डका सदस्यहरुको विरोध तथा ठेक्का रद्द गराउनका लागि उपप्रमुखले खबरदारी गरेपछि बाध्य भएर चिरीबाबुले ठेक्का रद्द गराएका थिए ।

विवाद नं. ७
चिरीबाबुको कारण सृजित अर्को विवाद भनेको शताब्दी पुरुष सत्यमोहन जोशीको रथ यात्राका क्रममा देखाएको नौटंकी । शताब्दी पुरुष सत्यमोहन जोशीको १०० औं जन्मोत्सवको अवसरमा उहाँकी धर्मपत्नीलाई घरैमा राखेर जोशीसंगै आफू पनि रथमा नगरपरिक्रमा गरेका कारण चिरीबाबुको धेरैले विरोध गरे । शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा रथ यात्रा हुँदा उहाँकी धर्मपन्तीलाई घरमै राख्नु, र नगरप्रमुख आफै रथमा विराजमान हुनु अशोभनिय काम भएको विपक्षीहरुले आरोप लगाए ।

विवाद नं. ८
चिरीबाबुको कार्यकालमा भएको अर्को विवाद भनेको राजश्वमा पहुँचवालालाई पोस्ने, हुँदाखानेलाई डस्ने नीति हो । सामान्य नागरिकहरुलाई थोरे छुट दिएर कर तिराएका चिरीबाबुले पहुँचवालाहरुलाई राजश्वको दायरामा ल्याउन सकेनन् ।

विवाद नं. ९
चिरीबाबुको कार्यकालको अर्को विवाद भनेको कौसी खेतीका लागि भएको एक करोड रुपैयाँको खर्च हो । कार्यपालिका वोर्डबाट निर्णय गराएर टेण्डर मार्फत गर्नु पर्ने उक्त काम नगरप्रमुख चिरीबाबुकै तोक आदेशको भरमा कार्यान्वयन भएको र मनमौजी खर्च गरिएको विषयले लामै समय चर्चा पायो ।

विवाद नं. १०
चिरीबाबुको कार्यकालको अर्को ठूलो विवाद भनेको सम्पदा पुनःनिर्माणको विषय हो । हरेक सम्पदा निर्माणलाई उच्च प्राथामिकतामा राखेर काम गरेको भाषण गर्ने चिरीबाबुले धेरै भाषणमा पाटनको भीमसेन मन्दिर आफ्नै नेतृत्वमा निर्माण भएको भन्दै भ्रम छरिरहेका छन् । जसका कारण पाटनका स्थानीयहरु रुष्ट बनेका छन् । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनको पहल र नेतृत्वमा ४ करोड ९२ लाख लागतमा निर्माण भएको भीमसेन मन्दिरका लागि चिरीबाबुले ललितपुर महानगरबाट एक करोड रुपैयाँ मात्रै उपलब्ध गराएका हुन् । बाँकी रकम स्थानीयहरु र उद्योग बाणिज्य संघको पहलमा जम्मा भइ काम भएको हो । लोकप्रियताका लागि यसरी अरुले गरेको कामको जस आफैले लिएर महानगरवासीसंग जाती बन्न खोजेको भन्दै विपक्षीहरुले व्यापक विरोध गरीरहेका छन् ।

विवाद नं. ११
चिरीबाबुको कार्यकालको अर्को विवाद भनेका तोक आदेशकै भरमा धुर्मुस सुन्तली फाउण्डेशनलाई दिएको बीस लाख रुपैयाँको विषय हो । जिल्ला भन्दा बहिर र उपत्यका भन्दा परको महानगरलाई कार्यपालिका बैठकबाट निर्णय नै नगराई तोक आदेशका भरमा पैसा बाँडेको कारण उनी विवादमा तानिए । कल्पना महर्जनका लागि सगरमाथा आरोहण गर्न ललितपुर महनगरले ३० लाख रुपैयाँ उपलब्ध गराउँदा कल्पना नै वासोवास गरिरहेको गोदावरी नगरपालिकाले त्यो भन्दा धेरै कम रकम उपलव्ध गराएपछि उक्त विषय समेत विवादमा तानियो ।

यसरी विवादमाथि विवादको श्रंखला कायम गरेका चिरीबाबुुले स–साना अरु धेरै विवादहरु सृजना गरेर महानगरमा आफ्नो कार्यकाल सकाउन लागेका छन् । अर्को कार्यकालका लागि पनि नगरप्रमुखको दौडमा रहेका महर्जनलाई जिल्ला पार्टी नेतृत्व र कार्यकर्ताहरुले नपत्याउने अवस्था आउँदा समेत चिरीबाबु आत्मरतिमा रमाउन छोडेका छैनन् । स–साना कुराको पनि प्रशंसामा रमाउने चिरीबाबु आफ्नो कमजोरी औल्याउने व्यक्तिलाई देख्न पनि चाहाँदैनन् ।

यो पनि पढ्नुहोस्

आफ्नै प्रशंसामा विते चिरीबाबुका पाँच वर्ष

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको पुत्ला दहन

मेयर चिरीबाबुको विदेश दौडमा लागेन ब्रेक !

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन ठूलाधनीसँग चुके

 

 

 

images
प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - ०५:५६:०८ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology