ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले आज सुमेरु हस्पिटल पुल्चोकसहित डल्ले रेष्टुरेन्ट प्रालि, रोड हाउस पिज्जा र लेभल ३ टेरेसा प्रालि कारवाही गरेको छ ।
ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार पुल्चोकस्थित सुमेरु सिटी हस्पिटलले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग नेपाल सरकारले तोकिए भन्दा बढी मुल्य लिएको पाइएपछि २० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।
बस्नेतका अनुसार एन्टिजेन परीक्षणको शुल्क एक हजार रुपैयाँ तोकिएको छ । तर अस्पतालले एन्टिजेन परीक्षण गर्न आउने बिरामीसँग २ हजार ५ सय रुपैयाँ लिएको प्रमाण भेटिएपछि कारबाही गरेको हो ।
त्यस्तै संयुक्त अनुगमन टोलीले पुल्चोकमा रहेको लविङ महलमा रहेको डल्ले रेष्टुरेन्ट प्रालिलाई १० हजार, रोड हाउस पिज्जालाई १० हजार र लेभल ३ टेरेसा प्रालिलाई ५ हजार जरिवाना गरेको छ । ती पसलहरुले अनुगमनको क्रममा व्यवसाय दर्ता नविकरण नगरेको, मूल्य सूचि नराखेको पाइएपछि जरिवाना गरिएको बस्नेतले बताए ।
गत विहीबार (असोज ७ गते) पनि प्रशासनले कैफियत देखिएको कफी बगानलाई ३ हजार, क्लिफ रेष्ट्रोलाई ५ हजार, एरोमा हिमालयन कफी पसललाई १० हजार जरिवाना गरेको थियो ।

अनुगमनको क्रममा विक्रीका लागि राखिएको सामानको गुणस्तरीयता, उत्पादन मिति भए/नभएको, पसल सञ्चालन गर्न अनुमति प्राप्त भए/नभएको, नगरपालिकामा दर्ता भए/नभएको, लगायत विविध पक्षको जाँचबुझ गरिएको बस्नेतको भनाई छ ।
सहायक प्रजिअ बस्नेतको नेतृत्वमा रहेको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत भूमिका ओझा, उपभोक्ता मञ्चका ध्रुवलाल तण्डुकार, उद्योग वाणिज्य संघका गीता न्यापाने, महानगरीय प्रहरी परीसरका प्रहरी निरीक्षक मधुसुदन विक, ललितपुर महानगरपालिकाका विजय खडका लगायतको सहभागिता रहेको थियो ।
यो पनि पढ्नुहोस