ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले दशैलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएको छ ।
प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा आज ललितपुरका विभिन्न स्थानका चारवटा पसलहरुको अनुगमन गरेको हो ।
चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशै आउन करिब ३ साता बाँकी छँदै प्रशासनले अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो ।
प्रशासनले आज लगनखेलमा रहेको तीनवटा रेष्टिुरेण्ट र पाटन औद्यौगिक क्षेत्रका १ आईसक्रिय कारखानामा अनुगमन गरेको सहायक प्रजिअ बस्नेतले जानकारी दिए ।
उनका अनुसार कैफियत देखिएको ३ वटा पसलहरु कफी बगानलाई ३ हजार, क्लिफ रेष्ट्रोलाई ५ हजार, एरोमा हिमालयन कफी पसललाई १० हजार जरिवाना गरिएको छ ।
बजार अनुगमन व्यवसायीहरूलाई आतंक फैलाउने र तर्साउने उद्देश्यले अनुगमन शुरु नभएको पनि बस्नेतले स्पष्ट पारे । बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउने बस्नेतले बताए ।
अनुगमनको क्रममा विक्रीका लागि राखिएको सामानको गुणस्तरीयता, उत्पादन मिति भए/नभएको, पसल सञ्चालन गर्न अनुमति प्राप्त भए÷नभएको, नगरपालिकामा दर्ता भए/नभएको, लगायत विविध पक्षको जाँचबुझ गरिएको बस्नेतको भनाई छ । शुरुआती चरणमा रहेकाले मापदण्डविपरीत सञ्चालन भएका पसललाई सुझाव तथा निर्देशन दिने र सुधार नभए कडा कारवाही गरिने पनि उनले बताए ।
आजको अनुगमन टोलीमा उपभोक्ता मंचबाट ध्रुवलाल तण्डुकार, उद्योग वाणिज्य संघबाट महेश श्रेष्ठ, महानगरीय प्रहरी परीसरबाट प्रहरी निरीक्षक मधुसुदन वि.क., घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत भूमिका ओझा, ललितपुर महानगरपालिकाबाट विजय खडकालगायतका थिए ।
कफी बगानको अनुगमन तथा कारवाही

क्लिफ रेष्ट्रोको अनुगमन तथा कारवाही

हिमालयन कफी पसलको अनुगमन तथा कारवाही

त्रिशक्ति आईसक्रिमको अनुगमन
