ललितपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्लाका ६ वटै पालिकाहरुको वडा अधिवेशन सम्पन्न भइसकेको छ । ललितपुर जिल्ला भित्र ललितपुर महानगरका २९, महालक्ष्मीका १०, गोदावरीका १४, महाँकालका ६, कोञ्ज्योसोमका ५ र बागमतीका ७ गरी जम्मा ७१ वटा वडाहरु रहेका छन् । कांग्रेसको निर्वाचन निर्देशिका, बिधान र नियमावली अनुसार भदौ २१ गते सम्पन्न वडा अधिवेशनबाट चयन भएका प्रतिनिधिहरुले गाउँ/नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला तहसम्मको अधिवेशनमा भाग लिन पाउने छन् । भदौ २७ गते हुने गरि तोकिएको गाउँ/नगर अधिवेशन केन्द्रीय निर्वाचन समितिले संशोधन गरेको कार्यतालिका अनुसार असोज ९ गते हुने तय भएको छ ।
१४ ओैं महाधिवेशन अन्तर्गत पालिका तह, प्रदेश क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको तयारीका लागि यतिवेला कांग्रेस नेता तथा कार्यकर्ताहरु दौडधुपमा छन् । कांग्रेस नेताहरुका विभिन्न गुट, उपगुटहरू क्रियाशील छन् । जिल्लामा मुख्य रुपमा वर्तमान सभापति मदनबहादुर अमात्य र पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणाको गुट क्रियाशील छ । उता पूर्वसभासद रामकृष्ण चित्रकार र महासमिति सदस्य जितेन्द्र कुमार श्रेष्ठले पनि जिल्ला नेतृत्व हत्याउनका लागि गुट निर्माण गरिरहेका छन् । विगतका महाधिवेशनमा सभापतिमा पराजित भएका मथुराप्रसाद घिमिरेको भने जिल्लामा प्रभाव कम हुँदै गएको बुझ्न सकिन्छ । कार्यकर्ताहरुलाई रिझाउन नसकेको कारण र स्वार्थी प्रवृत्तिका कारण कार्यकर्ताहरुले मथुराप्रसाद घिमिरेलाई नेतृत्वबाट पञ्छाउन खोजेको देखिन्छ ।
विगतमा मथुराप्रसाद घिमिरेकै गुटमा रहेका मीनकृष्ण महर्जन अहिले आफै सभापतिको दौडमा छन् । आफू नै कार्यकर्ताहरुमाझ लोकप्रिय रहेको दावी गर्ने स्वाघोषित मीनकृष्ण महर्जन विवादास्पद व्यक्ति हुन् । उता मथुराप्रसाद घिमिरेलाई कार्यकर्ताले मन नपराएपछि आफै सभापतिमा अगाडि बड्ने सोचमा महाधिवेशन प्रतिनिधि खोमप्रसाद घिमिरे छन् । द्वन्दकालमा आफू ललितपुर क्षेत्र नं. १ मा संगठन गर्न सफल भएको खोमप्रसाद घिमिरेको दावी छ । दुई पटक ललितपुर क्षेत्र नं. १ को सभापति हुँदा दोस्रो कार्यकालमा नेपाली कांग्रेसले जित हासिल गरेको र कांग्रेसको बलियो संगठन कै कारण त्यसबेला संविधानसभा सदस्यमा उदयशम्शेर राणालाई विजयी गराउन सफल भएको उनको दावी छ ।
उता गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र जिल्ला सदस्य प्रकाशनन्दन जोशी पनि सभापतिका लागि जोखाना हेर्दै छन् । वर्तमान सभापति मदन बहादुर अमात्यले समर्थन दिएमा दुवै उम्मेदवार बन्ने दाउमा छन् ।
जिल्ला तहमा नेतृत्वको दावी गर्ने यिनै नेताहरुका गुटमा विभाजित भएर कांग्रेसका स्थानीयदेखि जिल्ला तहसम्मका नेता तथा कार्यकर्ताहरु पदको लबिङमा छन् । प्रतिनिधिसभाको ३ वटा क्षेत्र रहेको ललितपुरमा प्रदेशसभा अन्तर्गत ६ वटा क्षेत्र पर्दछन् ।
ललितपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को क प्रदेश निर्वाचन क्षेत्रमा पर्ने महाँकाल गाउँपलिकाको सभापतिका लागि खोमप्रसाद दाहाल, बिनोद अधिकारी, तुलाप्रसाद तिमल्सिना र लक्ष्मण सञ्जेलको दावेदारी रहेको छ । खोमप्रसाद दाहाल माहाँकाल गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष हुन् । विनोद अधिकारी र तुलाप्रसाद तिमल्सिना मनोनित कांग्रेस जिल्ला सदस्य हुन् । तुलाप्रसाद तिमल्सिना शिक्षण पेशामा समेत आवद्ध छन् ।
त्यस्तै ललितपुर १ को प्रदेशसभाका दुवै क्षेत्रमा पर्ने कोञ्ज्योसोम गाउँपालिकाको सभापतिका लागि भारदेउका जीवन तामाङ, शंखुका सत्यमान घिसिङ, दल्चोकीका सरोज घलान (प्रकाश), चौघरेका श्याम घ्यावा लामा चौघरेको दावेदारी रहेको छ ।
दल्चोकीका सरोज घलान (प्रकाश) निर्वाचित वडा सदस्य तथा तरुण नेता हुन् । शंखुका सत्यमान घिसिङ निवर्तमान वडा सभापति हुन् । भारदेउका जीवन लामा यस अघिको वडा इकाइका सदस्य हुन् ।
ललितपुर १ को प्रदेशसभाको ख निर्वाचन क्षेत्रमा पर्ने बागमती गाउँपालिकाको सभापतिका लागि जगतबहादुर लो र सुनबहादुर लामाको दावेदारी रहेको छ । जगत बहादुर लो बागमती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष तथा निवर्तमान वडा सभापति हुन् । वडा अध्यक्ष लामा निर्माण व्यवसायी पेशामा आबद्ध छन् । सुनबहादुर लामा बागमती गाउँपालिका वडा नं. ४ प्युटारका निवर्तमान कांग्रेस सभापति हुन् । उनै सुनबहादुर लामा कै प्रस्तावमा यही भदौ २१ गते सम्पन्न वडा अधिवेशनबाट दलितलाई बोक्सीको आरोपमा दिसा खुवाउने विमला गोलेलाई कांग्रेस वडा सभापति वनाइएको थियो । लामा पनि ठेकेदारी पेशामा आवद्ध छन् ।
ललितपुर १ को प्रदेशसभाका दुवै क्षेत्र र ललितपुर क्षेत्र नं. ३ को दुवै निर्वाचन क्षेत्रमा पर्ने गोदावरी नगरपालिकाको सभापतिका लागि प्रदिप जोशी र शेखर न्यौपानेको दावेदारी रहेको छ । यही अधिबेशनका लागि नगरसभापतिका लागि आकांक्षी देखिएका रामभक्त महर्जन र कृष्णचन्द्र महर्जन भने प्रदिप जोशी उम्मेदवार हुने भएपछि नगरसभापतिमा उम्मेदवारी दावी नगर्ने भएका छन् ।
जोशी काँग्रेस नेता स्वार्गीय रामचन्द्र जोशीका सहोदर भाइ हुन् । लामो समयसम्म नेपाली कांग्रेस ललितपुरको क्षेत्रीय र जिल्ला तहमा क्रियाशील रहेका निष्ठावान र इमानदार छवि भएको स्वर्गीय रामचन्द्र जोशी परिवार मीनकृष्ण महर्जनकै दवदवाका कारण १२ओैं र १३ ओैं महाधिवेशनमा पछाडि परेको थियो । न्यौपाने हाल प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिको कोषाध्यक्ष छन् । उनी गत स्थानीय निर्वाचनमा वडा अध्यक्षको प्रत्यासी उम्मेदवार थिए ।
त्यसैगरी महालक्ष्मी नगरपालिको सभापतिको लागि वर्तमान सभापति दिवाकर सिल्वाल र सुशील खड्काको दावेदारी रहेको छ । खड्का नेपाल विद्यार्थी संघमा लामो समयसम्म राजनीति गरेका व्यक्ति हुन् । उनी मदनबहादुर अमात्य निकट हुन् भने वर्तमान सभापति सिल्वाल संविधानसभा सदस्य रामकृष्ण चित्रकार निकट हुन् ।
त्यस्तै ललितपुर महानगर सभापतिको लागि शुभानन्द धाख्वा, गणेशभक्त महर्जन र शरद महर्जनको नाम चर्चामा छ । धाख्वा रामकृष्ण चित्रकार निकट हुन् भने गणेशभक्त महर्जन जितेन्द्रकुमार श्रेष्ठ निकट हुन् । शरद कुमार वर्तमान सभापति मदनबहादुर अमात्य निकट हुन् ।
यो पनि पढ्नुहोस्