Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुर कांग्रेसमा सभापतिका यी हुन आकाँक्षी

ललितपुर कांग्रेसमा सभापतिका यी हुन आकाँक्षी

रामहरि कार्की

१८, आषाढ २०७८
ललितपुर कांग्रेसमा सभापतिका यी हुन आकाँक्षी
images

ललितपुर । नेपाली कांग्रेसको १४ औ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै ललितपुरमा चुनावी सरगर्मी बढेको छ । कांग्रेस वृत्तमा आगामी नेतृत्व कसले लिने भन्ने चर्चा यतिवेला वडादेखि केन्द्रिय तहसम्म चुलिएको छ ।

आगामी श्रावण २६ गतेको लागि जिल्ला अधिवेशन तोकिएपछि जिल्लास्तरका नेताहरु तिब्र रुपले चुनावी अभियानमा होमिएका छन् । कांग्रेसको वडा अधिवेशन श्रावण १२ गतेको लागि तय भएको छ । जिल्ला अधिवेशनसम्मका लागि मतदान गर्ने प्रतिनिधिहरु वडा तहबाट नै चयन भएर आउनेछन् ।

क्रियाशिल सदस्यता संख्याको आधारमा एउटा वडाबाट न्युनतम १६ जनादेखि १२६ जनासम्म प्रतिनिधि चयन हुन सक्नेछन् । यस अनुसार ललितपुरमा करिब दुई हजार भन्दा बढी प्रतिनिधिहरु जिल्ला अधिवेशनमा सहभागिता हुने कांग्रेस ललितपुरले जनाएको छन् ।

कांग्रेसको वडा अधिवेशनपछि गाउँ/नगर अधिवेशन श्रावण १६ गते हुनेछ । त्यस्तैगरी प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन श्रावण २० गते, प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन श्रावण २३ गते तोकिएको छ ।

एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनकै दिनमा हुनेछ । प्रदेश स्तरिय अधिवेशन भाद्र १ र २ हुनेछ भने केन्द्रिय महाधिवेशन भाद्र १६ देखि १९ को लागि कांग्रेस केन्द्रिय समितिको पछिल्लो बैठकले निर्णय गरेको छ ।

देशभर कांग्रेस महाधिवेशनको सरगर्मी चलिरहदा ललितपुरमा पनि भावी नेतृत्वको लागि यतिवेला चर्चा सुरु भएको छ । नेपाली कांग्रेसको विधानमा व्यवस्था गरे अनुसार लगातार दुई कार्यकाल सभापति भएको व्यक्ति लगातार तेस्रो पटक उम्मेदावर हुन नपाउने भएकोले वर्तमान सभापति मदन बहादुर अमात्य उम्मेदवार हुन सक्ने छैनन ।

कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिका प्रत्याशी उम्मेदवारहरु जितेन्द्रकुमार श्रेष्ठ र मीनकृष्ण महर्जन १४ औं महाधिवेशनका लागि पनि सभापतिको उम्मेदवारीको दौडमा रहेका छन् । यसका अलवा संविधान सभा सदस्य रामकृष्ण चित्रकार, महासमिति सदस्यहरु मथुराप्रसाद घिमिरे र प्रेमकृष्ण महर्जन, पूर्व जिल्ला सचिव रविन्स शर्मा, जिल्ला सदस्य प्रकाशनन्दन जोशी, गोदावरी नगरपालिकाका मेयर तथा क्षेत्र नं. ३ का सभापति गजेन्द्र महर्जनसमेत जिल्ला सभापतिका लागि आकाँक्षी देखिएका छन् ।

कांग्रेस सभापतिका आकाँक्षी उम्मेदवारहरु मथुराप्रसाद घिमिरेले उम्मेदवार बन्न नचाहेको खण्डमा पूर्व क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधि खोमप्रसाद घिमिरेलाई अगाडि सार्न सक्ने सम्भावना समेत रहेको छ । यसका लागि केन्द्रमा सिटौला पक्षधरमा लागेका जिल्ला स्तरका नेताहरुले समर्थन गर्न सक्नेछन् ।

१. मथुराप्रसाद घिमिरे
ललितपुरमा काँग्रेसका पुराना र अग्रज नेता हुन मथुरा प्रसाद घिमिरे । नेपाली काँग्रेसको ९ औं अधिवेशनबाट क्षेत्रीय सभापति हुने अवसर पाएका घिमिरेलाई त्यसपछिका कुनै पनि जिल्ला अधिवेशनले साथ दिएन । १० औं महाधिवेशनमा तत्कालीन सभापति सागर शम्शेर राणासँग १० मतको अन्तरले पराजित भएका घिमिरेलाई अहिले सागर शम्शेरकै छोरा उदय शम्शेर राणासँग प्रतिस्पर्धा गर्नु परेको पीडा छ । ११ औं महाधिवेशनमा सभापति जित्ने सहज अवसर हुँदा विदेशमा बसेर कार्यकर्ताको मन दुखाएका घिमिरेलाई आन्दोलनको समयमा विदेश भाग्ने गरेको आरोप लाग्ने गरेको छ । १२औं महाधिवेशनमा दोस्रो स्थानको प्रत्यासी उम्मेदवार रहेका घिमिरे १३ औं महाधिवेशनमा मीनकृष्ण महर्जनलाई नै समर्थन गर्दै जिल्ला सभापतिको उम्मेदवार बनेनन् । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका घिमिरे पराजित भए । २५ वर्षसम्म सभापतिको दावेदारी गरिरहेका घिमिरेलाई यस पटक पनि सभापतिका लागि भने त्यति सहज नभएको कार्यकर्ताहरु वताउँछन् ।

२. जितेन्द्र कुमार श्रेष्ठ
कांग्रेस ललितपुरमा सभापतिका प्रत्यासीका अर्का सम्भावित उम्मेदवार हुन् जितेन्द्र कुमार श्रेष्ठ । श्रेष्ठ २०४९ सालमा हालको स्थानीय तहको निर्वाचनमा हालको ललितपुर महानगरपालिकामा स्वतन्त्र रुपमा वडा नं. ३ को उम्मेदवारी दिएका थिए । २०५० सालमा कांग्रेसको क्रियाशिल सदस्य, २०५०–२०५२ सालसम्म इकाई सभापति, २०५२ सालमा क्षेत्रीय कोषाध्यक्ष, २०५७ सालमा क्षेत्रिय सचिव र महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । ११ औं महाधिवेशनबाट ललितपुरको सभापति भएका चन्द्र महर्जनको कार्यकालमा मनोनित कोषाध्यक्ष भएका जितेन्द्र कुमार श्रेष्ठ १२ औं महाधिवेशनमा रविन्स शर्मासँग जिल्ला सचिवमा पराजित भए । त्यसपछि १३ औं महाधिवेशनमा सभापतिमा दावी गरेका श्रेष्ठ त्यहाँ पनि पराजित भए । नेपाली काँग्रेसमा लामो समयदेखि क्रियाशील श्रेष्ठलाई २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अन्तरघात गरेको आरोपमा पार्टी सभापति मदन अमात्यले कारवाहीका लागि केन्द्रमा सिफारिस गरेका थिए । पछि कारवाही फुकुवा हुँदा सबैलाई माफी भएपछि उनले पनि माफी पाए । आफू सभापति भए ५ वर्षसम्म कुनै पनि निर्वाचनमा आफू उम्मेदवार नहुने र पार्टीका सबै साथीहरुलाई अवसर दिएर आफू जिताउन लागि पर्ने र पार्टीलाई विधि, पद्धति अनुसार सञ्चालन गर्ने, पार्टीका हरेक क्रियाकलापहरुको दस्तावेजिकरण गर्ने उनको भनाई छ ।

३. मीनकृष्ण महर्जन
कांग्रेस ललितपुरको आगामी नेतृत्वको लागि पार्टी सभापतिका स्वघोषित दाबेदार उम्मेदवार हुन मीनकृष्ण महर्जन । २०५६ सालमा तत्कालिन विद्रोही उम्मेदवार केशर बहादुर बिष्टलाई सहयोग गरेबापत कारवाही भोगेका महर्जन तरुण दलको केन्द्रीय सदस्य हुँदै पार्टीमा हाबी भएका हुन् । पछि कारवाही फुकुवा भएपछि २०६२/६३ को जनआन्दोलनमा कांग्रेसकै पृष्ठभूमिमा क्रियाशिल हुने मौका पाए । चन्द्र महर्जन सभापति रहेका समयमा जिल्ला सदस्य भएका महर्जन २०६७ सालमा भएको कांग्रेसको १२ औं महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित भए । २०७२ सालमा भएको पार्टीको १३ औं अधिवेशनमा पनि सोही पदमा दोहोरिए । जिल्ला अधिवेशनमा सभापति पदमा प्रत्यासी हुँदा तेस्रो स्थान हासिल गरेपछि जितेन्द्र कुमार श्रेष्ठलाई समर्थन गरेका थिए । जिल्ला अधिवेशनमा पराजित भएपनि महर्जन केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए । केन्द्रीय महाधिवेशनमा महर्जनले २९९ मत प्राप्त गरेका थिए । २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा ललितपुर क्षेत्र नं. १ (ख) मा नेकपा (एमाले) का उम्मेदवार चेतनाथ सञ्जेलसँग पराजित भएका महर्जन खेलाडी पृष्ठभूमिका हुन् ।

४. रामकृष्ण चित्रकार
नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष हुँदै नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील रामकृष्ण चित्रकार १२ औं र १३औं महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित भए । एकताका कमान्डर पोष्ट दैनिक पत्रिकाको अध्यक्ष रहेर काम गरेका चित्रकार २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य हुने महत्वपूर्ण अवसर पाए । विभिन्न संघसंस्थामा समेत आवद्ध उनी स्वस्ती श्री गुरुकुल कलेज, ललितपुर इन्जिनियरिङ कलेजमा समेत संग्लग्न छन् । सोही १२ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुँदा सभापतिका ३ जना उम्मेदवारहरु मदनबहादुर अमात्य, मथुराप्रसाद घिमिरे र रामकृष्ण चित्रकार उम्मेदवार थिए । नेपाली काँग्रेसका विधानअनुसार जिल्ला र केन्द्रीय सभापतिमा निर्वाचित हुन कुल मतदाताको ५१ प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था छ । जिल्ला अधिवेशनमा ३ जना उम्मेदवार हुँदा मदनबहादुर अमात्यले २३७, मथुराप्रसाद घिमिरेले १३३ र रामकृष्ण चित्रकारले ११९ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका चित्रकारले आफूलाई समर्थन गर्नुपर्ने प्रस्ताव राखे । दोस्रो स्थानमा रहेका मथुराप्रसाद घिमिरेलाई समर्थन गरेनन् । त्यसपछि दोस्रो स्थानमा मत हासिल गरेका घिमिरेले वर्तमान सभापति मदन अमात्यलाई सहयोग गरेका कारण पुनः निर्वाचन भएन र मदन अमात्य स्वतः सभापति भए । १३औं महाधिवेशनमा जिल्ला सभापतिमा सहज नहुने देखेपछि चित्रकारले ललितपुरका धेरै अग्रज नेताहरुलाई पार्टीको मुलधारबाट पखा लगाउने उद्देश्यका साथ प्रत्यासी उम्मेदवारको अपेक्षा नै नगरेका मीनकृष्ण महर्जनलाई सभापतिको उम्मेदवार बनाएर आफू केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए । केन्द्रीय सदस्यमा समेत अत्यन्तै न्युन मत पाएर पराजित भएका चित्रकार अहिले पुनः ललितपुर जिल्ला सभापतिको उम्मेदवारका आकाँक्षी देखिएका छन् । २०७४ सालमा भएको निर्वाचनमा अन्तरघात गरेको अभियोगमा कारवाहीको सिफारिसमा परेका चित्रकारले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार कारवाही फुकुवा भएका हुन् ।

५. गजेन्द्र महर्जन
कांग्रेस ललितपुरमा सभापतिका प्रत्यासीका अर्का सम्भावित उम्मेदवार हुन् गजेन्द्र महर्जन । पहिलो पटक १२ औं महाधिवेशनबाट भाग्यवस क्षेत्रीय सभापति हुने अवसर पाएका महर्जन १३ औं महाधिवेशनबाट पनि क्षेत्रीय सभापतिमा दोहोरिने अवसर पाए । वर्तमान जिल्ला सभापति मदन बहादुर अमात्य र संविधानसभा सदस्य रामकृष्ण चित्रकारसँग समदुरीमा रहेका महर्जन वर्तमान सभापति मदनबहादुर अमात्यको समर्थन पाएको खण्डमा उम्मेदवार हुने सम्भावना छ । यसो हुँदा वर्तमान जिल्ला सदस्य प्रकाशनन्दन जोशी उम्मेदवार नहुन सक्ने संकेत देखिन्छ । महर्जन हाल गोदावरी नगरपालिकाका प्रमुख समेत हुन् ।

६. रविन्स शर्मा
कांग्रेसको १२औं महाधिवेशनबाट जितेन्द्र कुमार श्रेष्ठलाई पराजित गर्दै जिल्ला सचिवमा निर्वाचित हुन सफल भएका रविन्स शर्मा १३ औं महाधिवेशनमा भने महाधिवेशन प्रतिनिधिमा नै पराजित हुन पुगे । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वागमती गाउँपालिकाको प्रमुख पदको दावेदारी गरिरहेका शर्मालाई पार्टीले टिकट दिएन । त्यसपछि वडा सदस्यका उम्मेदवार बनेका उनी पराजित हुन पुगे । वर्तमान सभापति मदन अमात्यबाट मनोनित भएर हाल जिल्ला सदस्यका रुपमा क्रियाशील शर्मा जिल्ला सभापतिको उम्मेदवार भन्दै प्रचारप्रसारमा लागिपरेका छन् । उनी भ्याली अंग्रेजी माध्यामिक विद्यालयमा संस्थापक प्रिन्सिपल समेत हुन् । आफू सचिव हुँदा ललितपुरका ३ ओटै निर्वाचन क्षेत्रमा पहिलो पटक नेपाली काँग्रेसलाई जिताउन महत्वपूर्ण भूमिका खेलेको दावी शर्माको छ ।

७. प्रकाशनन्दन जोशी
कांग्रेस ललितपुरमा सभापतिका प्रत्यासीका अर्का सम्भावित उम्मेदवार हुन् प्रकाशनन्दन जोशी । वर्तमान सभापतिको निकटमा रहेका जोशी लामो समयदेखि काँग्रेसमा क्रियाशील छन् । महासमिति सदस्य, जिल्ला सदस्य समेत रहेका जोशी खासै बाहिर चर्चामा आउन नचाहने व्यक्ति हुन् । आफ्नो नेताको छत्रछाँयाँमा रहेर काम गर्ने क्षमता भएका जोशी सभापति मदन अमात्यको समर्थन नपाएको खण्डमा उम्मेदवार हुने छैनन् । जोशीले २०७४ सालको स्थानीय निर्वाचन, प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारीमा रहेर काम गर्ने अवसर समेत पाएका थिए ।

८.प्रेमकृष्ण महर्जन
कांग्रेस ललितपुरमा सभापतिका प्रत्यासीका अर्का सम्भावित उम्मेदवार हुन् प्रेमकृष्ण महर्जन । हाल महासमिति सदस्य रहेका उनी ईटा भट्टा व्यवसायी हुन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेमा उम्मेदवार ज्ञानेन्द्र शाक्यसँग पराजित भएका उनी पार्टीमा रामचन्द्र पौडेल पक्षका हुन् ।

९. खोमप्रसाद घिमिरे
कांग्रेस ललितपुरमा सभापतिका प्रत्यासीका अर्का सम्भावित उम्मेदवार हुन् खोमप्रसाद घिमिरे । २०४५ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील घिमिरे मथुरा प्रसाद घिमिरे क्षेत्रीय सभपति भएको समयमा क्षेत्रीय सदस्य थिए । २०६१ सालमा क्षेत्रीय सभापति भएका उनी २०६७ सालमा भएको १२ औं महाधिवेशनमा पनि क्षेत्रीय सभापति हुन सफल भए । माओवादी द्वन्द्वकालमा पनि गाउँगाउँमा संगठन गरेको जस घिमिरेलाई जाने गरेको छ । १३ औं माहाधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित घिमिरे मथुराप्रसाद घिमिरे उम्मेदवार नभइ आफूलाई समर्थन गरेको खण्डमा जिल्ला सभापतिको उम्मेदवार हुने सोचमा छन् ।

images
प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - १४:५२:०५ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology