ललितपुर । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको विवाद समाधानका लागि तत्काल स्थगित स्थायी कमिटीको बैठक सुचारु गर्न माग गरेका छन् ।
शुक्रबारप्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता पदको इज्जत जोगाउन सुझाव दिएको भोलिपल्ट जवाफ फर्काउँदै श्रेष्ठले अहंकार र पूर्वाग्रहबाट माथि उठेर स्थगित स्थायी कमिटीको बैठक सुचारु गरी छलफल गर्नुपर्ने बताएका हुन्।
यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौं । प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, पार्टीभित्रको बहस र अन्तसंघर्षलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं, व्यक्तिको हार र जीतको विषय होइन ।
व्यक्तिगत आरोप प्रत्यारोप वा गालीगलौजका रुपमा नभई वैचारिक, सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गर्न उनले सुझाव दिए ।
म फेरि जोड दिएर भन्छु, हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं । सबै बैठकमा उपस्थित भएर आ(आफना विचार राखौं र छलफल गरौं ।