ललितपुर । पार्टी हीत विपरित गतिविधि गरेको आरोपमा नेपाली काँग्रेसले प्रभावशाली तीन नेतालाई निस्कासन गरेको छ ।
केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्कासन गरेको हो ।
शनिबार बसेको अनुशासन समितिको बैठकले जोशी र ओझालाई पाँच पाँच वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त प्रमाण अडियो र भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जोशीले गत निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट नेता वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । तर, भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी खारेज भएको थियो ।
कांग्रेस अनुशासन समितिले यसअघि पनि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका, बागीका प्रस्तावक तथा समर्थक बनेकाहरु गरी २ सय ९८ जनालाई पाँच वर्षका लागि बर्खास्त गरिसकेको थियो ।