ललितपुर । महालक्ष्मी नगरपालिकाले यहाँका वडामा दुई दिन काम गर्ने श्रमिक तथा मजदुरवर्गलाई पारिश्रमिकका रुपमा एक बोरा चामल दिने गरेको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) त्रासका कारण मुलुक बन्दाबन्दी भइरहेको अवस्थामा दैैनिक काम बिना घरको चुलो बाल्न नसक्ने जनतालाई ध्यानमा राखी महालक्ष्मीले श्रम बैंकमा आधारित कार्यक्रमको कार्यविघि बनाई उक्त निर्णय अघि बढाएको हो ।
नगरपालिका भित्र दैनिक काम नगरी पेट भर्न नपाउने जनताको हितमा सार्वजनिक विकास निर्माणको कार्यक्रमलाई अघि बढाएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए । उनले भने, “हाल यहाँका चार वटा वडा ५, ७, ८ र ९ मा लगभग १५० मजदुर तथा गरिब जनताले हाल धमाधम काम गरिरहेका छन् । यी व्यक्तिहरुलाई हामीले जम्मा दुई दिन मात्र काम लगाउने गरेका छाँै ।” नगरपालिका भित्र रहेका अरु बाँकी गरिब जनताले पनि काम गर्ने अवसर पाउनुपर्छ भन्ने उद्देश्यका साथ एक व्यक्तिलाई दुई दिन काम लगाएबापत ३० किलोको एक बोरा चामल दिने गरेको श्रेष्ठले बताए ।
महालक्ष्मीको हरेक वडाका अवस्था र प्राकृति हेरी मजदुर र विपन्नवर्गलाई काममा लगाइरहेको उपप्रमुख निर्मला थापाले बताइन । उनले भनिन्, “हाल यी काममा रहेका जनता कसैलाई औषधी लगायत अन्य वस्तु खरिद गर्नुपर्ने अतिनै बाध्यातमक अवस्था देखिएमा त्यसको मूल्याङ्कन गरी कोही कसैलाई रकम पनि उपलब्ध गराउने गरेका छाँै ।” नगरपालिकाका हरेक वडामा रहेका अपाङ्ग, असक्त, ज्येष्ठ नागरिक, उमेर ढल्किएका एकल महिला र साहरा बिहिन बालबालिकालाई बन्दाबन्दीको अवधिमा त्यसै भोको रहनुनपरोस भनी बिना काम राहत प्रदान गरिरहेको थापाले जानकारी दिइन् ।
महालक्ष्मीले सामाजिक दूरी कायम गरी वडा ५ मा मजदुरवर्गलाई चापाखर्क खाने पानीको लाईन पुनः सुचारु गराउने काममा लगाइरहेको छ । ८ मा देवीस्थानको दक्षिण तर्फको बाटो मर्मत तथा ढलान कार्य, चाकमगलको ढल सरसफाई र मर्मत कार्यमा लगाइरहेको छ । ९ मा विभिन्न कुलो र सडक मर्मत तथा सरसफाई, गहते लक्ष्मीचा टोल विकास संस्थासँग समन्वय गरी ठुलोखोला लक्ष्मीचा सिंचाई कुलो मर्मत तथा सफाई कार्य गराइरहेको बताइएको छ ।
यस अघि महालक्ष्मीले लुभु–डाडाथोक सडकको स्तरउन्नतीको कार्यमा संलग्न ठेकेदारसँग समन्वय गरी यी जनतालाई दैनिक ज्यालादारी मजदुरको रुपमा रोजगार दिन लगाएको थियो । ९ कार्यालयको सम्पर्कमा आएका बेरोजगार श्रमिकलाई घिमिरेथोबाट देउराली जाने सडकको ड्रेन खोल्न लगाएको थियो भने ८ लुभुमा जधः कुलो मर्मत, लुभु प्राथमिक स्वास्थ्य केन्द्र तथा वडा कार्यालय परिसर सरसफाई गराउनुका साथै चसिडोल ठाडो बाटोको कुलो सरसफाई समेत गराइसकेको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए ।
महालक्ष्मीले बन्दाबन्दी शुरु भएको एक महिनापछि पहिलो एक चरणमा राहत वितरणको काम सम्पन्न गरिसकेको हुँदा अब पुनः दोस्रो पटक राहत वितरण गर्नुभन्दा जनतालाई काममा लगाएर परीश्रमी र मिहिनेती बनाउनु नरपालिकाको उद्देश्य रहेको छ ।