विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोरोना भाइरसको महामारीका बेला सरकार भने भ्रष्टचारको जालोमा जेलिँदै अधिनायकवाद तर्फ अघि बढेको आरोप लगाएका छन् ।
शैलजा आचार्यको ११ औँ स्मृति दिवसका अवसरमा विराटनगरमा बिहीबार भएको कार्यक्रममा नेता कोइरालाले अहिले महामारीका बेला सरकारले औषधि खरिदमा भएको अनियमितता तथा भ्रष्टाचारको ढाकछोप गर्न नेपाली सेनालाई प्रयोग गरेको दाबी गरे ।
‘ओम्नी औषधि खरिद प्रकरण, १० अर्ब खर्च लगायतका विषयमा अख्तियारले छानबिन गर्न सकिरहेको छैन’, उनले भने, ‘ न्यायालय मौन छ, कारवाही हुनसकेको छैन, सरकार जनताको भावनामा खेलवाड गरिरहेको छ ।’
सांसदहरुले १० अर्ब रुपैयाँको हिसाब मागिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले खर्च माग्ने बेला नभएको भन्दै बचाउ गरेकोप्रति उनले आपत्ति जनाए ।
‘सरकारले सुशासन, पारदर्शिता र जवाफदेहीतालाई सँगै लैजान नसकेको खण्डमा देश गहिरो संकटमा पर्नसक्छ’, उनले थपे ।