काठमाडौं । सत्तारुढ दल नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे निर्णायक छलफल गर्न बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्ताका कारण मंगलबार दिउँसो ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए ।
नेकपाले एमसीसीबारे अध्ययन गर्न कार्यदल बनाएको थियो । खनाल नेतृत्वको कार्यदलले एमसीसी परियोजनालाई संशोधन नगरी पारित नगर्न सुझाव सहित पार्टीमा सिफारिस गरेको थियो तर, कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा परेपछि पार्टीभित्र व्यापक विवाद भएको थियो । सोही विषयमा निर्णायक निर्णय गर्नको लागि मंगलबार दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको थियो ।
तर, बैठक नबसी सचिवालय बैठक स्थगित गरिएको हो ।