काठमाडौं । बडादशैँ २०८३ को पावन अवसरमा कार्तिक ३ गते महानवमीका दिन सशस्त्र प्रहरी बल, नेपालको निशान, मौलो तथा कोत पूजा हलचोक स्वयम्भूस्थित नं. १९ बगलामुखी विशेष कार्यदल गणमा सम्पन्न भएको छ।
संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको प्रमुख आतिथ्यतामा बिहान ७ बजेर ३५ मिनेटको पूजाको संकल्प साइतमा सुरु भएको पूजा कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालको निशानमा विधिपूर्वक पञ्जाछाप लगाउनुभएको थियो ।
सशस्त्र प्रहरी बल, नेपालले बडादशैँको अवसरमा हरेक वर्ष आफ्नो साङ्गठनिक परम्परा अनुसार निशान, मौलो तथा कोत पूजा अर्चना गर्दै आएको छ।
समारोहमा सशस्त्र प्रहरी बल, नेपालको सलामी टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो भने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, प्रधान कार्यालय तथा उपत्यकास्थित इकाईहरूबाट प्रतिनिधित्व गर्नुहुने वरिष्ठ अधिकृतहरू,सिनियर अधिकृतहरू, अधिकृतहरू एवं बिल्लादार जवानहरूद्वारा पूजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो।
समारोहको समापनका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मौलो पूजा व्यवस्थापन एवं सञ्चालनमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई पगरी तथा नगद समेत पुरस्कार प्रदान गर्नुभएको थियो।