Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

आज महानवमी, नवदुर्गाको पूजा गरी मनाइँदै

आज महानवमी, नवदुर्गाको पूजा गरी मनाइँदै

दैनिकी न्यूज

४, कार्तिक २०८३
आज महानवमी, नवदुर्गाको पूजा गरी मनाइँदै
images

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको नवौँ दिन आज देशभर महानवमी पर्व मनाइँदैछ। यस अवसरमा नवदुर्गा भगवतीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। आइतबार र सोमबार दुई दिन महाअष्टमी परेकाले आज महानवमी मनाउन लागिएको हो।

महानवमीका दिन दसैँघर तथा विभिन्न देवी मन्दिर र शक्तिपीठमा विशेष पूजाआराधना गर्ने परम्परा छ। घटस्थापनाका दिन राखिएको जमरा दुर्गा भवानीलाई चढाइन्छ। साथै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गरिन्छ। कतिपय स्थानमा बोका, हाँस, कुखुरा र राँगाको बलिसमेत दिइन्छ।

पशुबलि नदिने तथा शाकाहारी भक्तजनले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र नरिवल चढाएर पूजा गर्ने गर्छन्। कतिपय स्थानमा महाअष्टमीका दिन बलि दिने र महानवमीमा मार हान्ने चलन पनि छ। केही शक्तिपीठमा पञ्चबलि दिने परम्परा कायम छ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकी थिइन्। त्यसैले यस दिनलाई धार्मिक दृष्टिले विशेष महत्त्वका साथ लिइन्छ।

आज नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको पूजा गरिन्छ। दसैँघर वा पूजाकोठामा विधिपूर्वक पूजा गरी दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गर्ने र दक्षिणा दिने चलन छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि आराधना गरिन्छ।

महानवमीका अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ। काठमाडौंको हनुमानढोका दरबारसहित विभिन्न कोतमा कोतपूजा र निशानापूजा गरिन्छ। नेपाली सेनाका ब्यारेक तथा गुल्ममा पनि बाजागाजासहित जङ्गी निशाना पूजा गर्ने परम्परा छ।

महानवमीसँगै नवरात्रको धार्मिक अनुष्ठान समापनतर्फ पुग्छ। भोलि विजयादशमीका दिन टीका, जमरा र आशीर्वाद ग्रहण गरी बडादसैँ मनाइन्छ।

images
प्रकाशित मिति :कार्तिक ४, २०८३ मंगलवार - १३:४९:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology