काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहेको छ।
आगामी समयमा पनि हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत आंशिक बदली हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा देशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। तीमध्ये केही स्थानमा हिमपातको समेत सम्भावना रहेको छ।