Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मनसुन बाहिरिए पनि वर्षाको जोखिम कायमै, चार प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

मनसुन बाहिरिए पनि वर्षाको जोखिम कायमै, चार प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

दैनिकी न्यूज

२९, आश्विन २०८३
मनसुन बाहिरिए पनि वर्षाको जोखिम कायमै, चार प्रदेशमा मेघगर्जनसहित वर्षा हुने
images

काठमाडौँ । मनसुन बाहिरिए पनि देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना कायमै रहेको छ। पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा समेत एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान छ। तराईका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

आज राति हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। तराईमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। रातिको समयमा देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मनसुन बाहिरिएपछि पनि पश्चिमी तथा स्थानीय वायुको प्रभावले वर्षा हुन सक्ने भएकाले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले मौसमको अवस्थाबारे जानकारी लिएर यात्रा गर्न उपयुक्त हुनेछ।

images
प्रकाशित मिति :आश्विन २९, २०८३ बिहिवार - ०८:१५:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology