सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन्।
आइतबार बिहान करिब २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप मध्यपहाडी लोकमार्गबाट करिब दुई सय मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घटनास्थलमा खटिएको प्रहरी टोलीले तीन महिलाको शव फेला पारेको थियो। घाइते चार जनालाई उद्धार गरी प्रारम्भमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।
घाइते हुनेमा चालक, ओखलढुंगाका २९ वर्षीय आशीष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ।
इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको नेतृत्वमा सात जना प्रहरी तथा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको नेतृत्वमा गोताखोरसहितको टोली खोजी कार्यमा जुटेको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।