काठमाडौं । दिवङ्गत पितृको सम्झना र सम्मानमा मनाइने पितृ पक्ष आज शनिबार समापन हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्र श्राद्धको अन्तिम दिन आज औँसीको श्राद्ध, तर्पण, सिदादान र पिण्डदान गरी पितृको स्मरण गरिँदैछ।
पितृ पक्ष सकिएसँगै भोलि आइतबार असोज २५ गते घटस्थापना हुनेछ। घटस्थापनासँगै दुर्गा पक्ष अर्थात् बडादसैँ औपचारिक रूपमा सुरु हुनेछ। दसैँ सुरु हुने भएपछि घरघरमा जमरा राख्ने र दुर्गा भवानीको पूजा गर्ने तयारी भइरहेको छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण औँसीसम्मका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी १६ तिथिमा पितृको श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ। पितृ पक्षको अन्तिम दिन आज औँसीको श्राद्ध गरिन्छ। कुनै कारणले यसअघि आफ्नो तिथिमा श्राद्ध गर्न छुटेका व्यक्तिले आज श्राद्ध गर्न सक्ने धार्मिक मान्यता छ।
कुनै कारणले आज पनि श्राद्ध गर्न नसकिएमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिने शास्त्रीय व्यवस्था रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।
उनका अनुसार उक्त अवधिमा पनि श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिन्छ। त्यतिबेला पनि सम्भव नभए वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म उपयुक्त तिथि मिलाएर श्राद्ध गर्न सकिने शास्त्रीय मत छ।
नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईका अनुसार आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र तथा व्यतीपात योग परेका दिन पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने विकल्प धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ। त्यसपछि पनि श्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ र नसक्नेले ब्राह्मणमार्फत वैदिक मन्त्र १०८ पटक जप गर्न सकिने शास्त्रीय व्यवस्था रहेको उनले बताए।
सोह्र श्राद्धको अन्तिम दिन आज काठमाडौं उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, चितवनको देवघाट तथा नवलपरासीको त्रिवेणीलगायत विभिन्न तीर्थस्थलमा श्रद्धालुको भीड लागेको छ। तीर्थस्थलमा दिवङ्गत पितृको सम्झनामा तर्पण र पिण्डदान गर्नेहरूको उपस्थिति बढेको छ।
पितृ पक्षको समापनसँगै भोलिदेखि सुरु हुने बडादसैँमा घरघरमा घटस्थापना गरी जमरा राख्ने, दुर्गा भवानीको पूजा आराधना गर्ने र दसैँको धार्मिक अनुष्ठान सुरु गरिनेछ। नेपालीहरूको प्रमुख चाड दसैँको आगमनसँगै बजार र बस्तीमा पनि चाडपर्वको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।