Logo

सोमवार, आश्विन १९ गते २०८३

images

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

दैनिकी न्यूज

१८, आश्विन २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
images

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो २ बजे हुने कांग्रेसले जनाएको छ।

महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। कांग्रेसका अनुसार महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। यो संख्या पार्टीको इतिहासमै सबैभन्दा ठूलो सहभागिता भएको कांग्रेसको दाबी छ।

महाधिवेशनमा देशका ७७ वटै जिल्लासहित विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधिहरू काठमाडौं आएका छन्। उद्घाटन समारोहका लागि खुलामञ्चलाई विशेष रूपमा सजाइएको छ।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुनेछन्।

यस्तै श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपाने पनि उद्घाटन समारोहमा सहभागी हुने बताइएको छ।

महाधिवेशनले कांग्रेसको आगामी नीति र नयाँ नेतृत्व तय गर्नेछ। सभापतिमा गगन थापा चयन हुने सम्भावना बलियो देखिएको छ। सभापतिबाहेकका अन्य पदमा भने प्रतिस्पर्धा तीव्र हुने अनुमान गरिएको छ।

महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवालाई सभापति थापाले निमन्त्रणा पठाएका छन्।

शनिबार साँझ सहमहामन्त्री योगेन्द्र चौधरी र कांग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरीले थापाको निमन्त्रणापत्र लिएर देउवा निवास चुनदेवी पुगेका थिए। तर, निमन्त्रणा लिएर पुगेका दुवै नेतासँग देउवाले भेट गरेनन्।

कांग्रेस संस्थापन पक्ष आजदेखि १५औँ महाधिवेशनमा जुटिरहँदा देउवा पक्षले भने आगामी मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी अघि बढाएको छ।

images
प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - ०८:४१:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology