Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आइतबारदेखि मौसम खुल्दै, सोमबार देशभर वर्षाको सम्भावना न्यून

आइतबारदेखि मौसम खुल्दै, सोमबार देशभर वर्षाको सम्भावना न्यून

दैनिकी न्यूज

२४, आश्विन २०८३
आइतबारदेखि मौसम खुल्दै, सोमबार देशभर वर्षाको सम्भावना न्यून
images

काठमाडौं । पूर्वी नेपालमा सक्रिय मौसमी प्रणाली कमजोर बन्दै गएपछि आइतबारदेखि देशभरको मौसममा क्रमिक सुधार हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षाको क्रम घट्दै जानेछ भने सोमबार रातिसम्म देशका कुनै पनि स्थानमा वर्षा हुने सम्भावना छैन।

विभागले शनिबारको मौसम बुलेटिन सार्वजनिक गर्दै पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिणपूर्वतर्फ सर्दै गएकाले मौसममा सुधार आउने जनाएको छ ।

हाल कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रहेको छ। अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। मौसमी प्रणालीको प्रभावका कारण कोशी, मधेस र बागमतीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली, सुदूरपश्चिम र तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।

शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्नेछ। तराईमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। यद्यपि बिहान र रातिको समयमा हुस्सु लाग्न सक्ने विभागले जनाएको छ।

आइतबार मौसममा थप सुधार आउने विभागको प्रक्षेपण छ। कोशी र बागमतीका थोरै स्थान तथा अन्य पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। तराईमा आंशिक बदली रहे पनि मौसम सामान्यतया सफा रहने अनुमान छ। आइतबार राति हिमाली क्षेत्रका एक–दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ।

सोमबार दिउँसो पहाडी भूभागका निकै कम स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि राति देशभर वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ ।

यसैबीच, विभागले शनिबार कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै पहेँलो रङको चेतावनी जारी गरेको छ। मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

images
प्रकाशित मिति :आश्विन २४, २०८३ शनिवार - १२:३१:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology