काठमाडौं । दसैँमा घर जाने यात्रुलाई लक्षित गर्दै शुक्रबारदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मङ्गलबार बसेको सरोकारवाला निकायको बैठकले अग्रिम टिकट खुला गर्ने निर्णय गरेको हो।
बैठकले घटस्थापना अर्थात् असोज २५ गतेदेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला गर्ने निर्णयसमेत गरेको छ। तर, सडकको विशेष अवस्थाका कारण निश्चित आकार वा क्षमताका सवारीसाधन सञ्चालनमा रोक लगाइएको स्थानमा भने उक्त प्रतिबन्ध कायमै रहनेछ।
नारायणगढ–काठमाडौं सडकखण्डमा पनि घटस्थापनादेखि पूर्णिमासम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। असोज २५ देखि कात्तिक ८ गतेसम्म खाद्यान्न, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनबाहेक ट्रेलरलगायत ठूला मालवाहक सवारी सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।
दसैँमा ठूलो संख्यामा यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने भएकाले अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको हो। यसअघि दसैँको करिब एक महिनाअघिदेखि नै अग्रिम टिकट बिक्री खुला गरिँदै आए पनि यसपटक बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएकाले केही ढिला भएको विभागले जनाएको छ।
चाडपर्वको समयमा यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल गर्ने, टिकटमा अनियमितता गर्ने वा कालोबजारी गर्ने व्यवसायी तथा व्यक्तिमाथि कारबाही गरिने विभागले जनाएको छ। यात्रुले आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न आग्रह गरिएको छ। तोकिएभन्दा बढी भाडा लिएको पाइएमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउन यातायात व्यवस्था विभागले अनुरोध गरेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाका अनुसार बसपार्क, चाबहिल, बल्खु, कोटेश्वरलगायत तोकिएका स्थानबाट अग्रिम टिकट बिक्री गरिनेछ।
विगतका वर्षमा दसैँका बेला १८ देखि २० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने गरेकोमा यस वर्ष करिब १५ लाख यात्रु बाहिरिने अनुमान गरिएको महासङ्घले जनाएको छ। भोटेकोशी बाढीका कारण ठूलो संख्यामा सवारीसाधनमा क्षति पुगेको र केही चालकसमेत बेपत्ता भएकाले यातायात व्यवसायी क्षेत्रमा असर परेको महासङ्घले जनाएको छ।
बाढीपहिरोका कारण विभिन्न सडक अझै जोखिमपूर्ण अवस्थामा रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न यात्रुलाई आग्रह गरिएको छ। पानी परिरहेकाले सुक्खा पहिरो तथा सडक अवरोधको जोखिमसमेत रहेको महासङ्घको भनाइ छ।
महासङ्घका अनुसार नागढुङ्गा, कोटेश्वर, बल्खु र टोखा नाकाबाट यात्रुवाहक सवारीसाधन उपत्यकाबाहिर जानेछन्। दसैँको यात्रालाई सुरक्षित बनाउन लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, टिकट काउन्टरका कर्मचारीले परिचयपत्र र युनिफर्म अनिवार्य लगाउनुपर्ने तथा टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।
दसैँतिहारमा नयाँ बसपार्कसहित विभिन्न टिकट काउन्टरमा यात्रुको चाप बढ्ने भएकाले सुरक्षा व्यवस्था पनि थप कडा बनाइने भएको छ। यात्रुको सहायता र गुनासो व्यवस्थापनका लागि १४ वटा नागरिक सहायता कक्ष सञ्चालन गरिने महासङ्घले जनाएको छ।
यात्रुको सुरक्षा तथा राजमार्गको अवस्थाबारे तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्रसमेत सञ्चालनमा ल्याइनेछ। महासङ्घका अनुसार यात्रुवाहक सबै सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानीलगायत अत्यावश्यक सामग्री अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ।