काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार आइतबार सरकारलाई पत्र पठाउँदै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न सिफारिस गरिएको हो। उक्त सिफारिसबारे अन्तिम निर्णय भने नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गर्नेछ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदानको मिति तोकिएको छ। आयोगको सिफारिसअनुसार बिदा घोषणा भए निर्वाचनको आसपासको अवधि झण्डै एक सातासम्म बिदामय हुने देखिएको छ।
यसअघि फागुन १८ गते पहाडी क्षेत्रमा र १९ गते तराई क्षेत्रमा होली पर्व परेको छ। त्यसैगरी फागुन २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि परेकाले निर्वाचनको समयमा लगातार बिदा पर्ने अवस्था बनेको छ।
यसरी निर्वाचन, पर्व र सार्वजनिक बिदाको संयोजनका कारण सो अवधिमा झण्डै एक सातासम्म सार्वजनिक बिदा हुने सम्भावना रहेको छ।