Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरमा तीन निर्वाचन क्षेत्रमा फरक–फरक स्थानमा उम्मेदवार मनोनयन दर्ता

ललितपुरमा तीन निर्वाचन क्षेत्रमा फरक–फरक स्थानमा उम्मेदवार मनोनयन दर्ता

दैनिकी न्यूज

६, माघ २०८२
ललितपुरमा तीन निर्वाचन क्षेत्रमा फरक–फरक स्थानमा उम्मेदवार मनोनयन दर्ता
images

ललितपुर । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा आज (माघ ६ गते) उम्मेदवार मनोनयन दर्ता हुँदैछ । जिल्ला निर्वाचन कार्यालय ललितपुरले निर्वाचन क्षेत्रअनुसार छुट्टाछुट्टै स्थान तोकेर मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार मनोनयन दर्ताका लागि गोदावरी नगरपालिका, बज्रबारहीस्थित गोदावरी नगरपालिकाको भवनलाई निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ । यस क्षेत्रअन्तर्गतका दल तथा स्वतन्त्र उम्मेदवारहरूले सोही स्थानमा पुगेर उम्मेदवारी दर्ता गराउनुपर्नेछ ।

त्यस्तै ललितपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मनोनयन दर्ता कार्यक्रमका लागि सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनलाई निर्वाचन अधिकृतको कार्यालय तोकिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवारहरूको मनोनयन दर्ता भने स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमै हुने बताइएको छ ।

निर्वाचन कार्यालयका अनुसार तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको छ । तोकिएको समयभित्र आवश्यक कागजातसहित उपस्थित भई उम्मेदवारी दर्ता गराउन दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई आग्रह गरिएको छ ।

यसैबीच, प्रमुख राजनीतिक दलहरूले उम्मेदवारी दर्ताको समयतालिका सार्वजनिक गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ललितपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत उम्मेदवार मनोनयन दर्ता कार्यक्रमका लागि मध्याह्न १२ बजेको समय तय गरेको जनाएको छ ।

त्यसैगरी नेकपा एमाले ले दिउँसो २ बजे गोदावरी नगरपालिका भवनमा उम्मेदवार दर्ता गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ । नेपाली कांग्रेसले भने दिउँसो ३ बजे उम्मेदवार मनोनयन दर्ता गर्ने निर्णय गरेको र सो सम्बन्धी जानकारी विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

निर्वाचन कार्यालयले मनोनयन दर्ताको दिन शान्ति, सुरक्षा र व्यवस्थापनका लागि आवश्यक सबै तयारी गरिएको जनाएको छ । उम्मेदवारी दर्ता भएसँगै ललितपुर जिल्लामा प्रतिनिधिसभा निर्वाचनको राजनीतिक माहोल थप तात्नेछ

images
प्रकाशित मिति :माघ ६, २०८२ मंगलवार - ०९:४२:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology