Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुशासनको अभियान रोकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

सुशासनको अभियान रोकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

दैनिकी न्यूज

८, भाद्र २०८०
सुशासनको अभियान रोकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
images

ललितपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धिको रक्षाका लागि सरकार, सदन र सडकको मोर्चालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले युवाहरुमा अहिले अब देश बन्छ भन्ने आशा पलाएको दाबी गरे ।

शुक्रबार ललितपुरको डिलाइट पार्टी भेन्यूमा भएको पार्टी प्रवेश कार्यक्रममा उनले प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक, आर्थिक रूपान्तरणको नेतृत्व माओवादीले मात्र गर्नसक्ने दाबी गर्दै तीनवटै मोर्चा प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

एमालेप्रति लक्ष्ति गर्दै उनले संसद विघटन गरेर परिवर्तनमाथि प्रतिगमन लाद्न खोजिएको आरोप लगाए । तर त्यसलाई माओवादीकै नेतृत्वमा भएको आन्दोलनले परास्त गरेको उनले बताए ।

त्यस्तै जुनजुन बेला माओवादी नेतृत्वमा सरकार बनेको त्यसबेला सामाजिक, आर्थिक रुपान्तर र जनताको हितमा काम गरेको जिकिर गरे ।

मन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गर्न तस्करीलाई पक्राउ गरी त्यसको जरैसम्म पुग्न सरकारले निष्पक्ष छानबिन गरी अगाडि बढिरहेको बताए ।

‘समृद्धिको यात्रालाई अगाडि बढाउन सुशासन पहिलो सर्त भएकाले भ्रष्टाचारी, कमिसन खोरी, काला बजारी, ठगी गर्नेलगायत दण्डहीनताको अन्त्य गरी सुशासन कायम गर्न सरकारले अगाडि बढिरहेको छ । सुशासनमार्फत समृद्धिको यात्राको नेतृत्व माओवादीबाहेक अन्यले गर्न सक्दैन ’, उनले भने ।

सुशासनको अभियान चलाएपछि जनतामा नयाँ आशा पलाएको जिकिर गर्दै उनले अभियानबाट आतंकित भएकाहरूले सरकारविरुद्ध आक्रमण गरी असफल बनाउन लागिरहेको आरोप लगाए । उनले दलाल नोकरशाही पुँजीपति वर्गविरुद्धको लडाइँमा सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा सानुराज बज्राचार्य, संकरलाल वैद्य, रोशन महर्जन, सुनिल देउला, रामकृष्ण महर्जन, हरिकृष्ण महर्जन, रत्न महर्जनलगायत १६७ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले पार्टी प्रवेश गर्नेहरू सबैलाई आत्मसम्मानमा ठेस नपुग्ने गरी जिम्मेवारी दिइने प्रस्ट पारे।

कार्यक्रम माओवादी केन्द्रको जिल्ला समन्वय समिति ललितपुरले कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा माओवादी केन्द्र ललितपुरका संयोजक शिव कट्टेलले पार्टी प्रवेश गर्नेहरूलाई पार्टीले उचित जिम्मेवारी दिने बताए।

 

images
प्रकाशित मिति :भाद्र ८, २०८० शुक्रवार - १७:२८:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology