काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको भागवण्डा मिलाएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले भागवण्डाको टुंगो लगाएको हो।
पाँच दलको सहमति अनुसार यसअघि जुन पार्टीबाट निर्वाचित भइ अहिले अहिले खाली भएका छन् ती स्थानमा छ त्यही पार्टीलाई दिएर सघाउने निर्णय भएको छ।
सहमति अनुसार माओवादीलाई ४ वटा, नेकपा एकीकृत समाजवादीलाई चारवटा र काङ्ग्रेसलाई ६ वटा सिट उसैलाई दिएर सत्ता गठबन्धन दलहरुबीच एकअर्कालाई सघाउने निर्णय भएको छ।
प्रमुख प्रतिपक्षी एमालेको भागमा रहेको ८ सिटमध्ये कांग्रेसले ३, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई एक/एक, जसपालाई २ र राष्ट्रिय जनमोर्चाले १ सिट बाँडफाँट गर्ने सहमति पनि गरेका छन्।
आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् ।
एमालेलाई आफ्नो ८ सिट जोगाउनुपर्ने चुनौती छ। राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि आगामी माघ १२ गते चुनाव हुँदैछ। राष्ट्रियसभामा प्रदेशसभा सदस्य र गाउँपालिका/ महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्।