काठमाडौं । नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा केन्द्रीय विभागका नेता घनश्याम रजकले अन्तरिम संविधान लेख्ने बेलामा संघीयता सम्बन्धमा पार्टीले आफ्नो स्टान्ड जनताका बीचमा राख्न नसक्दा मधेसमा ठूलो क्षति व्यहोरेको जनाएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा प्रस्तुत गरेको राजनीति प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।
‘मधेस विद्रोहको जग जनयुद्धले तयार गरेको भए पनि अन्तरिम संविधानमा संघीयता शब्द उल्लेख गर्ने सवालमा भएको त्रुटिले मधेस आन्दोलनको नेतृत्व गर्नबाट हामी चुकेका थियौं,’ उनले भने । यो कमजोरीलाई प्रतिवेदनमा उल्लेख गर्नुपर्ने उनको सुझाव छ ।
विचारको प्रश्नमा शृङ्खलाबद्ध विकासको प्रक्रियालाई नकार्न मिल्दैन । विभिन्न समयमा पार्टी एकता वा अन्य बहानामा माओवाद (वा माओ विचारधारा) छोड्नु/पक्रनु गम्भीर वैचारिक बिचलन हो, ‘प्रचण्डपथ’ विचार शृङ्खला कै विकसित रुपमा लिनुपर्ने र यसको थप विकासमा जोड गर्नु पर्नेमा छोडने पक्रनेले बैचारिक अस्पष्टता दर्शाउने उनले बताए । उनले भने, ‘प्रचण्डपथ हिजो किन सहि थियोे ? आज के गल्त भयो ? प्रष्ट आउनु पर्छ ।’
उनले जनयुद्ध सुरु हुनुभन्दा धेरै पहिलादेखि मधेसमा संघीयताको आवाज उठ्दै आएको पनि उल्लेख गरे । विभिन्न समयमा पार्टी एकता वा अन्य बहानामा माओवाद छोडनु र समात्नु गम्भीर वैचारिक विचलन भएको उल्लेख गर्दै रजकले ‘प्रचण्डपथ’ लाई विचार शृङ्खलाकै विकसित रुपमा लिनुपर्ने र यसको थप विकासमा जोड गर्नुपर्ने बताए । उनले भने, ‘प्रचण्डपथ हिजो किन सही थियोे ? आज किन गलत भयो ? त्यो प्रष्ट आउनु पर्छ ।’
उत्पीडित समुदाय र वर्गलाई स्वीकार्यताका लागि वर्तमान प्रशासनिक संघीयतालाई संशोधन गरि वास्तविक संघियातासहितका विषय समेटी संविधान संशोधनलाई प्रमुख कार्यनीति बनाउनु पर्ने उनले सुझाव दिए ।
चुनावमार्फत् समाजवाद ल्याउन चुनाव जित्नु प्रमुख कार्यभार रहेको बताउँदै उनले यसका लागि पूर्ण समानुपातिक निर्वाचन पद्धतिमा जानका लागि कार्यनीति प्रस्ट हुनुपर्ने सुझाव दिएका छन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्नेमा पनि जोड दिएका छन् ।
पार्टीको विधानमा मुस्लिम, महिला र मधेसी दलितका लागि विशेष व्यवस्था गर्नुपर्ने सुझाव दिँदै उनले पार्टी सदस्य र पदाधिकारीमा पूर्ण समानुपातिक आधारमा छनौट गरिनुपर्ने धारणा राखेका छन् । उनले पार्टी सदस्य र पदाधिकारी समेत प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित हुनुपर्ने जोड दिएका छन् ।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन २०७८ पुस ११ देखि प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी रहेको छ । महाधिवेशनको पाँचौ दिन तथा बन्द सत्रको चौथों दिन बिहीबार विहान ११ बजदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।
समूहगत प्रस्तुति सकिएसँगै बन्द सत्र शुक्रबार अपरान्ह १ बजेसम्मका लागि स्थगित भएको छ । बन्द सत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुने प्रचार प्रसार उपसमितिले जनाएको छ ।