काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् व्यापारका लागि तथ्यगत आधार प्रस्तुत गरे निजी क्षेत्रलाई पनि अनुमति दिने बताएकी छन् । परम्परागत तबरले भन्दा पनि परिवर्तित यथार्थमा रहेर जलविद्युत् क्षेत्रका निर्णय लिइने उनले स्पष्ट पारिन् । उनले निजी क्षेत्रले पनि नयाँ ढंगले सोच्नुपर्ने समय आएको बताइन् ।
शुक्रबार मन्त्रालय पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)लाई मन्त्री भुसालले विद्युत् व्यापार गर्न सक्छौँ भन्ने विश्वासिलो आधार प्रस्तुत गरे सरकारले अनुमति दिने स्पष्ट पारेकी हुन् । उनले भनिन्, 'तर्क र बहसमात्र होइन, हामी विद्युत् बिक्री गर्न सक्छौँ भन्ने ग्यारेन्टी गरेर आउनुहोस्, धेरै विलम्ब नगरिकन अनुमति दिउँला ।' विद्युत् व्यापार संवेदनशील विषय भएको बताउँदै मन्त्री भुसालले परम्परागत तवरलेभन्दा पनि जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिइन् । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो नेतृत्वका क्रममा विद्युत् खपतसहितका अन्य महत्वपूर्ण निर्णय लिएर काम गरिरहेको स्पष्ट पारे । जलविद्युत् विकास र व्यापारका विषयमा मन्त्रालय र प्राधिकरण गम्भीर भएर लागेको बताउँदै उनले निजी क्षेत्रले मागेको विद्युत् प्राधिकरणले स्वीकृत गरे पनि निजी क्षेत्रका पूर्वाधार तयार नभएकाले तत्काल खपत हुने स्थिति नरहेको स्पष्ट पारे । विद्युत् विकास विभागका महानिर्देशक सन्दीपकुमार देवले विभागले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढेको उल्लेख गर्दै आगामी दिनमा प्रक्रियागत ढिलासुस्ती हटाउन विभाग लाग्ने दाबी गरे । इपानका अध्यक्ष कृष्ण आचार्यसहितका प्रतिनिधिले विद्युत् क्षेत्रमा देखिएका समस्याबारे मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।