हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । । मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अबस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ । यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।
यसअघि बहुमत प्राप्त दलको हैसियतमा नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले विभाजित भएसँगै अल्पमतमा परेकी शाक्यले कात्तिक १० विश्वासको मतको प्रस्तावका लागि हुने मतदानमा प्रक्रियामा सहभागी नभइ राजीनामा दिएकी हुन् ।
गठबन्धनको दलहरु नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालको सहमतिमा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएको हो । हाल मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल रहेको छ ।
हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ ।
गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर गरेका थिए c
प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य रहेको छन् ।