हेटौडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रक्रिया कात्तिक १० लाई सरेको छ। बिहीबार बसेको बागमती प्रदेश सभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल मात्र भएपछि मतदानको प्रक्रिया रोकिएको हो।
आजको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत मागिन् भने अरू दलका नेताले राजीनामा गर्न आग्रह गरे। विश्वासको मत लिने कामको बाँकी प्रक्रिया कात्तिक १० गतेलाई तोकिएको छ। प्रस्तावमाथिको छलफलपछि सभामुखले बाँकी प्रक्रिया आगामी बैठकमा पूरा हुने जानकारी गराउँदै बैठक अन्त्य गरेका थिए। बैठक १० गते दिउँसो १ बजेका लागि बोलाइएको छ।
गठबन्धनमा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो मुख्यमन्त्री पाउने सहमति गरेका छन्। पहिले समाजवादीका पाण्डेलाई मुख्यमन्त्री बनाउने र दोस्रोमा कांग्रेसले मुख्यमन्त्री पाउने सहमति भएको कांग्रेसका प्रदेश सभा सदस्य निमा लामाले बताए ।
प्रदेशसभा ठूलो दलको हिसाबले एमालेबाट २ भदौमा मुख्यमन्त्री बनेकी शाक्यले २२ असोजमा प्रदेशसभाको सचिवालयमा विश्वासको मत लिन प्रस्ताव दर्ता गरेकी थिइन् । २४ असोजमा उनले प्रदेश सभाको बैठक विश्वासको मतको प्रस्ताव पेस गरेकी थिइन् ।