काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संसद विघटन गरी चुनावमा जाने निर्णयलाई ‘प्रतिगमन भाग २’को संज्ञा दिंदै प्रतिवाद गर्न आह्वान गरेका छन् ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएराति १ः४५ बजे प्रतिनिधिसभा विघटन घोषणा गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते हुनेगरी मध्यावधि चुनाव मिति तोकेकी छिन्।
सरकारको पछिल्लो कदमको प्रतिवाद गर्दै पूर्वप्रधानमन्त्री नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको उल्लेख गरेका छन्।
नेपालले विद्युतीय सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रतिगमन दोहोरिएको छ। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल हो। यो व्यवस्था नै कू गर्ने अग्रसरता हो। शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ। यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु।’
यसअघि २०७७ साल पौष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि प्रतिगमन तिर गएको भन्दै तीव्र विरोध भएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले उक्त निर्णय बदर गरेसँगै प्रतिनिधि सभा पुनः व्युँतिएको थियो । अहिले फेरि संसद् विघटन गरेपछि यसलाई माधव नेपालले प्रतिगमन भाग २ मानेका हुन् ।